add

राजनीतिमा गति र मति भएको नेता चाहिएको छः महामन्त्री थापा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १३, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं/ १२ चैत,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा गति र मति भएको नेता आवश्यक रहेकाे बताउनुभएको छ । काठमाडौंको गैरीधारामा मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्राे स्मृतिकाे अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै महामन्त्री थापाले राजनीतिमा छट्टुहरूको हाबी भएको भन्दै त्यस्ता छट्टुहरुको आयु धेरै नभए पनि तिनीहरुबाट सतर्क रहनु पर्ने बेला आएको बताउनु भएको हाे
‘हामीलाई पार्टीमा मेहनत गर्ने मान्छे चाहिएको छ। छट्टुहरु त राजनीतिमा आउँछ लटरपटर पारेर झुक्याउँछ, यसो रंगरोगन गर्छ, जान्छ’, थापाले भन्नुभयाे, ‘हामीलाई छुट्टुहरु होइन, धैर्यता भएको मान्छे चाहिन्छ। धैर्यता भनेर केही पनि नगर्ने मान्छे होइन। गति र मति दुवै भएको मान्छे चाहिन्छ।’
उहाँले गति भएको तर मति छैन र मति छ तर गति छैन भने त्यस्तो आफुहरुलाई नचाहिएको भन्दै आफूहरुले नै मति पनि ठीक राख्नु परेको बताउनुभयाे।
‘हाम्रो घर भित्रको फोहोर पनि सफा गर्नु पर्ने छ। घर भित्र फोहोर छ। फोहोरलाई कार्पेट मुनी राखेर हुँदैन’, महामन्त्री थापाले भन्नुभयाे, ‘हामीले फोहोर सफा गर्नै पर्छ। कहीँ असुद्ध छ भने शुद्ध र पवित्र बनाउनै पर्छ ।’
उहाँले नेपालमा नौजवानहरुले चाँडोभन्दा चाँडो परिवर्तन होस भन्ने चाहेकोले यस्तो चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दुरुपयोग गरेको बताउनुभयाे।
युवाहरुले चेतनाको राजनीतिक गर्ने मानिसलाई समात्नु पर्छ भन्दै थापाले रुपान्तरणको एजेण्डा आफूहरुलाई चाहिएकोले आन्दोलनको निष्ठा भएको हाम्रो पार्टीको पुँजी र सम्पति नविन्द्रराज जोशीकोे अभाव वा रिक्ततालाई पुरा गर्न वदल्न छलफल र चिन्तनको आवश्यकता भएको बताउनुभयाे।
नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरुले युवाहरुलाई प्रभावित पार्ने खतरा बढेको भन्दै उहाँले स्वर्गीय जोशीमा विनयशिलता रहेको बताउनुभयाे।
‘हामी दुवैजना मन्त्री थियौं। हामीबीच स्वस्थ प्रतिष्पर्धा थियो। हामी भूतपूर्व मन्त्री हुनका लागि मन्त्री भएनौं। यो दुई मन्त्रीले जे जति काम गर्नुहुन्छ, अरुले पनि काम गर्नु पर्छ भनेर अहिलेको प्रधानमन्त्रीले हामीलाई भन्नुहुन्थ्यो’ थापाले भन्नुभयाे।
उहाँले भन्नुभयाे, ‘स्वर्गीय जोशी असाध्यै मिहनेत गर्ने, सबै कुरा थाहा छैन भन्ने तर आजभोली राजनीतिमा जताततै भगवानहरु छन्। उनीहरुलाई सबै थाहा हुन्छ। उहाँ धेरैजनाबाट सिक्नु हुन्थ्यो । सुझाव लिनु हुन्थ्यो।’
पार्टीको सदस्यता, पार्टीको कोष, उम्मेदवार उठाउने मापदण्ड, निर्वाचन प्रणाली, पार्टी संचालन गर्ने कुरा सुधार गर्नु पर्छ भन्ने जोशीले राजनीतिक परिवर्तन २०४६ सालको आन्दोलन र २०४७ सालको संविधानलाई डिसमिस नगरी त्यसको जगमा बनाउनु पर्छ भन्ने अडानमा भएको थापाले जनाउनुभयाे।
राजनीतिलाई सेवासँग जोड्ने र जनताको सेवासँग नजोडिएर गरिएको राजनीतिक स्थायी हुँदैन भन्ने मान्यता राख्ने जोशीमा योग्यता र इमान्दार दुवै गुण पाइने गरेको बताउनुभयाे।