add

खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २२, बिहिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/ २२ चैत : राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंचलाल महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राख्नुभयाे। ‘देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भन्नुभयाे ।
पत्रकार सम्मेलनमा चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट पैदल नै काठमाडौं आउने बताइएको थियो । चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौं विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् । सो क्रममा पचलीबाट देवगणहरु मचली, चल्खु, मुसुंबहाः हुँदै सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुग्नेछन् ।
परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ । त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ । हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताउनुभयाे। ‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेका छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं’ वडाध्यक्ष महर्जनले भन्नुभयाे । १२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदिका लागि ६० लाखको कोष बनाएको महर्जनले जानकारी दिनुभयाे ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु र स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थिति रहेको थियो ।