add

उपलब्ध स्राेत र साधनको अधिकतम उपयाेग हुने अवस्था सृजना गर्नुपर्छ - मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २६, सोमबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ २६ चैत : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्राेत र साधनको अधिकतम उपयाेग हुने अवस्था सृजना गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । "समृद्ध नेपालकाे आधार, कृषियाेग्य जमिनमा पूर्ण सिंचाईकाे बिस्तार" भन्ने नारासहित आइतबार मनाइएकाे सिंचाइ दिवस एवम् ७१ ओै बार्षिकाेत्सव कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले परिस्थितिमा आउने परिवर्तनसंगै साेच र सन्दर्भ परिवर्तन भई समय सापेक्ष र परिस्थिति अनुकुल परियाेजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभएको हाे ।
"विकास र सामाजिक न्याय, आर्थिक विकासकाे कुरा गरिरहेका छाैं । यसलाई याेजना कार्यान्वयनमा कसरी प्रतिविम्बित गरिरहेका छाै भन्ने कुरा बिचारणीय छ ।अहिले आवश्यकता अनुसार दुईचार खर्व आवश्यक छ, यति धैरै बजेट छुट्टाउन सामाजिक न्याय र आर्थिक दृष्टिले अहिले हामीलाई अत्यन्तै कठिन हुन्छ । बजेट, जनशक्ति  र कार्यक्रममा तालमेल नमिल्दा उपलब्धि हासिल हुन सकेको छैन । सिँचाइ क्षेत्रमा बजेट पुगेको छैन, तर छुट्टयाइएको बजेट पनि त सही ठाउँमा उपयाेग हुन सकेकाे छैन ।कार्यक्रम एक ठाउँमा र बजेटकाे लक्ष्य अर्को ठाउँमा भयाे भने उपलब्धि हासिल हुन सक्दैन ।" मन्त्री बस्नेतले भन्नुभयो ।
विकासकाे गतिशील प्रक्रियालाई ग्रहण गर्दै जाने क्षमता चाहिने भन्नुहुँदै उहाँले नीति,याेजना, कार्यक्रम तय गर्दा एकीकृत विकासकाे साेचबाट अगाडि बढ्नुपर्ने र अन्तरसम्बन्ध भएका सबै कानून निर्माण गरी परिणाम निस्कने गरी परियाेजना सञ्चालन गर्न लाग्नु पर्ने बताउनुभयो । हरेक क्षेत्रका लागि एकआपसमा बाँझिने फरक फरक कानून बनाउनु समय र समन्वयका आधारमा एउटै कानून बनाउनु ठीक हुन्छ भन्नुहुँदै उहाँले जलस्रोत तथा सिँचाइ गुरुयाेजना तयार पारेर साेही अनुसार लक्ष्य हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । 
लाेकसेवा आयाेगका सदस्य माधव वेलवासेले खाद्य सुरक्षा अत्यन्तै गम्भीर विषय भएको भन्नुहुँदै यसका लागि सिँचाइकाे भूमिका धेरै महत्त्वपूर्ण भएको बताउनुभयो । "हाम्रा धेरै जमिनहरु बाँझाे अवस्थामा छन् । आयाेजना उद्घाटन गरेर आनन्द मानेर बस्न सक्ने अवस्था छैन  ।सिँचाइमा लागतकाे व्यवस्थापनका लागि समयमै सम्पन्न हुने अवस्था कायम गरिनुपर्ने छ। ठूला आयाेजनामा ध्यान दिनुपर्नेछ।" उहाँले भन्नुभयो ।
आयाेजना कार्यान्वयन गर्दा विभागले समयमै सम्पन्न गर्नका लागि प्रत्यक्ष निगरानी गर्नुपर्ने तीर ध्यानाकर्षण गराउनुहुँदै उहाँले प्रशासन र प्रविधिककाे जनशक्तिलाई फरक ढंगले हेर्दै आयाेजनाकाे प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय याेजना आयाेगका सदस्य डाक्टर कुसेन्द्र बहादुर महतले कृषि सरकारकाे सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हाे भन्नुहुँदै यसका लागि सिँचाइका व्यवस्थापन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले साधन र स्राेतकाे सीमितताका बाबजुद पनि १६ ओैं पञ्चवर्षीय याेजनामा नेपालकाे जलस्रोत र सिँचाइ सम्बन्धी याेजनाहरुलाई महत्त्वका साथ समेटिनुपर्ने बताउनुभयाे। उहाँले अहिले निर्दिष्ट गरिएको साधन र स्राेतलाई सतप्रतिशत खर्च हुने वातावरण बनाउन लाग्नुपर्ने चुनाैती रहेको धारणा राख्नुभयाे । उहाँले उत्पादकत्व वृद्धि गर्न किसानलाई तत्कालै लाभ हासिल गर्न सक्ने नवप्रवर्तनीय साेचहरुकाे बिकास गरिनुपर्नेमा जाेड दिनुभयो। नीतिगत समस्या छन् भने राष्ट्रिय याेजना आयाेगले सहज बनाउने नीति लिएको छ भन्नुहुँदै उहाँले नागरिकले आशा गरेका सफल हुने आयाेजना छन् भने हामी छलफल गर्न सक्छौं भन्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुशील चन्द्र तिवारीले उत्पादकत्व बृद्धिका लागि उपलब्ध जलस्रोतकाे भरपूर उपयाेग गर्दै लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासलाई पहिलाे प्राथमिकता राख्दै सेवा दिंदै कृषि उत्पादन बनाउन प्रभावकारी ढंगले लाग्नुपर्ने, विद्युत उर्जाकाे उपयाेग गर्दै सिचाइ क्षमतालाई वृद्धि गरेर उत्पादन बढाउन क्रियाशील हुनुपर्नेमा जाेड दिनुभयाे । उर्जा उपयाेगका लागि अनुदान दिने नीति बनाउँदै राष्ट्रिय उत्पादन बढाउन र राेजगारी सृजना गर्न लाग्नुपर्नेमा उहाँले जाेड दिनुभयो । 
जल तथा उर्जा आयाेगका सचिव केशव प्रसाद शर्माले खेती याेग्य जमिनकाे संरक्षणका लागि राष्ट्रिय वहस चलाइनुपर्ने र मागमा आधारित सिंचाइ याेजनालाई जाेड दिनुपर्ने बताउनुभयो । उहाँले सिंचाइ क्षेत्रमा भएका विज्ञहरुकाे क्षमता र विज्ञतालाई प्रयाेग गरेर उत्पादन र राेजगारीसंग जाेड्नुपर्छ भन्नुभयाे । सिंचाइ विश्वव्यापी सराेकारकाे बिषय हाे भन्नुहुँदै उहाँले यसलाई खाद्य सुरक्षासंग जाेडेर व्याकता दिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सरिता दवाडीले सिंचाइ नीतिलाई कार्यान्वयनका लागि ऐन नै बनाएर जानुपर्ने आवश्यकता रहेकाे बताउनुभयो उहाँले तराईका क्षेत्रमा भूमिगत सिंचाइ आयाेजना गर्न सके भरपर्दो बनाउन सकिने र सिंचाइलाई खाद्य सुरक्षासंग जाेडेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सिंचाइ विभागकाे कानुनी पुनसंरचना र कार्यालयहरुकाे,संरचना परिवर्तन गर्ने तयारीमा रहेकाे बताउनुभयो ।
वि.सं. २००९ सालमा नहर विभागकाे रुपमा स्थापित विभागद्वारा आयाेजित सिंचाइ दिवस एवम् ७१ ओै बार्षिकाेत्सवकाे अवसरमा रानीजमारा कुलरिया सिंचाइ आयाेजना टिकापुर कैलाली, सुनकाेशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयाेजना सिन्धुली र बृहत् दाङ उपत्यका सिंचाइ आयाेजना दाङलाई उत्कृष्ट सिंचाइ आयाेजनाका रुपमा सम्मान गरिएको छ । कार्यक्रममा यस बर्ष अवकाशप्राप्त कर्मचारीलाई समेत सम्मान गरिएको छ ।