add

ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र ३०, शुक्रबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट महिला समूह घाेषणा गर्दै पुरस्कृत गरेको छ। वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूहह उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएका हुन् । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ ।
त्यसैगरी, वडा नं.६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं. ११ मा रहेको दथुलँ महिला समूह, वडा नं.२४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह , वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित हुन सफल भए । त्यस्तै,वडा नं.२ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह यस बर्ष पनि उत्कृष्ट महिला समूहमा पुरस्कृत भए । यी दुई समूह अघिल्लो बर्ष पनि उत्कृष्ट समूहमा पुरस्कृत हुन सफल भएका थिए।
त्यस्तै,वडा नं ६ मा रहेकाे कनिबहाल जागृति महिला समूह, वडा नं.९ मा रहेको सप्तखेल मिसा पुच: र वडा नंं.९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित हुन सफल भए ।
पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयाे।
पुस्कार वितरणसंगै मन्तव्य राख्नुहुँदै नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहले गरेका सकरात्मक प्रयासकाे प्रशंसा गर्नुभयाे । "तपाईहरु टाेल, छिमेक, गाउँ र वडाकाे नेता हाे। अरुले पछ्याउन मिल्ने खालका काममा लाग्न तपाईंहरुलाई सल्लाह दिन चाहान्छु । म २०३८ सालदेखि तीन पटक वडा अध्यक्ष, दुई पटक नगरप्रमुख भँए, अहिलेसम्म एक जना महिला पनि वडा अध्यक्षमा जितेकाे छैन, एक दुई जना महिला त वडा अध्यक्षमा आउनुपर्ने हाे नि ! अव, २०८४ मा २९ वटा वडा मध्ये घटीमा पनि ३ जना वडा अध्यक्ष महिला आउन सक्नुस्, मेराे शुभकामना छ।" महर्जनले भन्नुभयो । 
उहाँले विगतमा आफूले प्लास्टिक झाेला मुक्त बनाउने भनेर घाेषणा गरेको तर त्यसकाे विकल्पमा अहिलेसम्म केही हुन सकेकाे छैन भन्नुहुँदै महिला समूहलाई त्यसका लागि याेजना लिएर आउनुस्, म सहयाेग गर्न चाहान्छु भन्ने प्रतिवद्धता जनाउनुभयाे । ललितपुर शहरलाई सफा राख्न तपाईंहरुकाे महत्त्वपूर्ण भूमिका छ भन्नुहुँदै उहाँले महानगरभित्रका चार सय ३५ वटा महिला समूहकाे यसमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले समुहमार्फत समुदाय र घरलाई समृद्ध बनाउन सक्यौं भने महत्त्वपूर्ण काम हुन्छ भन्ने धारणा राख्नुहुँदै महानगरले महिला समूहसंग नमूनायुक्त टाेल बनाउन सकरात्मक भूमिकाकाे अपेक्षा गरेको बताउनुभयो । उहाँले महिलाहरुलाई बजारसंग उत्पादनलाई जाेडेर काम गर्न सक्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले समृद्धिकाे लागि सामाजिक रुपान्तरणमा समूहहरुकाे उत्कृष्ट भूमिकाको अपेक्षा गर्नुभयो ।
सामाजिक विकास समितिका संयाेजक, वडा नं. ९ का वडा अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले वि.सं. २०७९ मा उत्कृष्ट समूह घाेषणा गर्दा उद्यमशील महिला समूहलाई प्राथमिकता दिने भन्ने थियाे भन्नुहुँदै यस पटक विगतका मापदण्ड बाहेक उद्यमशीलताले पनि प्राथमिकता पाएकाेमा खुसी व्यक्त गर्नुभयो । उहाँले सबै महिला समूहले एउटै कुरामा केन्द्रीत हुने भन्दा पनि फरकफरक बिषयमा ध्यान दिन आग्रह गर्नुभयाे।
सम्मानित हुनेहरूकाे तर्फबाट मन्तव्य राख्नुहुँदै सिञ्चाहिटी मिसा पुच: कि अध्यक्ष शान्ति श्रेष्ठ महर्जनले हरेक कामकाे मुल्यांकन हुनु राम्रो कुरा हाे भन्नुहुँदै समाजकल्याण महाशाखाले महिलाहरुकाे नेतृत्व, व्यक्तित्व विकासमा अत्यन्तै महत्त्वपूर्ण सहयाेग गरेकाे बताउनुभयो ।