add

'क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ'

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख ९, आइतबार वर्गीकृत राजनीति

ललितपुर/ ९ बैशाख, नेकपा(माओवादी केन्द्र)संग एकताकाे पक्षमा रहेका नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जाेड दिएका छन् । पार्टीकाे बागमती प्रदेश र गैरभाैगाेलिक प्रदेश समितिकाे आयाेजनामा शनिबार ललितपुरमा भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा धारणा राख्ने नेता, कार्यकर्ता तथा जिल्लाका प्रतिनिधिहरुले नेपाली जनताकाे माग, भावना र चाहना अनुसार रुपान्तरण र परिवर्तनका लागि देशका बामपन्थीहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जाेड दिएका हुन् ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आधारशिला भएको बताउनुहुँदै यसकाे रक्षाका लागि याे देशका बामपन्थीहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने धारणा राख्नुभयाे । "मधेश  आन्दोलन र जनयुद्धकाे माग पूरा गर्नका लागि नै माओवादीसंग एकता आवश्यक रहेकाे छ । हाम्रो नजिकैको मित्र शक्ति भनेकाे नेकपा माओवादी नै हाे, गत निर्वाचनमा माओवादी र हाम्रो पार्टी एकता भएर नेकपा समाजवादी हुने सर्तमा चुनाव चिन्ह लिएर चुनाव लडेकाे हाे । नेपालका सबै बामपन्थी एक ठाउँमा आउन सकेन भने इन्डियामा जसरी कम्युनिष्ट पार्टी समाप्त हुन्छ । त्यसैले अहिलेकाे सरकार कम्युनिष्ट ध्रुवीकरणकाे लागि हाे । अब हामीले अधुरो काम पूरा गर्न लाग्नुपर्छ ।" अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले पार्टी एकताकाे माध्यमबाट जनताकाे पक्षमा काम गर्ने शक्ति प्राप्त हुने बताउनुहुँदै ध्रुवीकरण भएर मात्रै जनताकाे अपेक्षा सम्बाेधन गर्ने पार्टीको रुपमा स्थापित हुन सकिने बताउनुभयो । उहाँले विभिन्न आन्दोलनबाट स्थापित नेता तथा कार्यकर्तालाई समेट्दै एकताकाे अभियानमा लाग्ने सबैलाई जाेड्ने अभियान रहेकाे बताउनुभयो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ भनेर लागि परेका छाैं भन्नुहुँदै पश्चगामी शक्तिहरुकाे अराजक गतिविधिहरुलाई राेक्नका साथै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताकाे संरक्षणका लागि अहिले ध्रुवीकरण हुनु आवश्यक रहेकाे बताउनुभयो । 
"संविधानसभाबाट संविधान घाेषणा पछि व्यवस्था परिवर्तनको एउटा काेर्ष पूरा भएको हाे, तर त्यसपछि त्यही परिवर्तनको आधारमा समाजतीर जान नसकेपछि हामी छुट्टिनुपरेकाे  हाे, याे बिचमा हाम्रो प्रयाेगले पार्टी र परिवर्तनकारी शक्तिहरु सफल हुन सकेन, तसर्थ हिजाेकाे जनयुद्धको लिगेसी बाेकेकाहरु विगतकाे गल्तीको समीक्षा गर्दै रुपान्तरण सहितकाे एकता गर्नुपर्छ ।" श्रेष्ठले भन्नुभयो ।
उहाँले आफूहरू पदका लागि माओवादीमा विलय हुन खाेजेका हैनाैं भन्नुहुँदै शान्ति प्रक्रियाका सबै प्रक्रिया पूरा गर्दै सशक्त राजनीति शक्तिको रुपमा स्थापित हुँदै जनताप्रति जवाफदेही बन्न चाहेका बताउनुभयो । उहाँले पार्टी एकता गर्न चाहेकाे र व्यक्तिव्यक्तिका लागि पदकाे रुपमा माओवादीमा विलय हुन लागेका हैनाैं भन्ने प्रष्ट पार्नुभयाे । उहाँले पार्टी एकता गर्दा युवा मनाेविज्ञानकाे पनि सम्बाेधन गर्दै कम्युनिष्ट आन्दोलनकाे समय सापेक्ष व्याख्या गरेर बैचारिक रुपमा बलियाे धरातल स्थापित गर्दै अगाडि बढ्ने बताउनुभयो । अहिलेकाे पहिलाे काम भनेको प्राप्त उपलब्धिकाे रक्षा गर्दै समृद्धिकाे दिशामा अगाडि बढ्नु रहेकाे श्रेष्ठको भनाइ थियाे।

पार्टी एकता कार्यदलका सदस्य तथा पार्टीका महासचिव रमेश यादवले नयाँ शक्तिकाे नारा र मधेश विद्रोहबाट उदाएकाे शक्तिलाई एकताबद्ध बनाएर समृद्धिकाे दिशामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता रहेकाे बताउनुभयो । उहाँले जनविद्रोहबाट यहाँसम्म आइपुग्दा एउटा नेतालाई मात्रै स्थापित गर्ने उद्देश्य नरहेकाे भन्दै एउटा राजनीतिक स्वार्थका लागि राजनीतिक पसल मात्रै खाेलेकाे हैन, जनताको गाँस, बास र कपासकाे चिन्ताले स्थापित हुन खाेजेकाे बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरुकाे रुपान्तरणका लागि ओैचित्यपूर्ण एकता आवश्यक रहेकाे बताउनुभयो । पश्चिमी शक्तिकाे उदय हुँदै गरेकाे अवस्थामा रहेकाेले यसले परिवर्तनकारी शक्ति र वर्तमान व्यवस्थामा खतरा देखापरेकाे उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा मकवानपुरका प्रतिनिधि राजकुमार भेटवाल, ललितपुरका प्रतिनिधि शंकर अधिकारी, काठमाडौंका प्रतिनिधि सुरेश खड्गी, भक्तपुरकी प्रतिनिधि ललिता श्रेष्ठ, काभ्रेकाका उपाध्यक्ष राजिव लामा, ललितपुरका प्रतिनिधि राजु महर्जनलगायत बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरुले समृद्धि हाम्रै पालामा भन्ने भनाईलाई सार्थक बनाउन विगतमा परिवर्तनका लागि राजनीतिक माेर्चामा क्रियाशील शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने, विचार, राजनीति र दृष्टिकोणलाई सार्थक बनाउँदै निराशालाई उत्साहमा बदल्न भाषणभन्दा काम गर्नुपर्ने अवस्थामा ध्रुवीकरण भएर राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँहरूले नयाँ शक्तिका नाममा खराव नियत भएका व्यक्तिहरु दावी हुँदा राजनीतिक व्यवस्था, संविधानकाे मूल मर्म र गणतन्त्रमाथि संकट देखा परेको बताउँदै बामपन्थी शक्तिहरुबीचकाे एकताका माध्यमबाट उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । राजनीतिक कार्यकर्ताहरुले सामाजिक गतिविधिमा क्रियाशील भएर सहिष्णुता, सद्भाव कायम गर्दै राजनीतिक  लक्ष्य र उपलब्धि हासिलका लागि स्पष्ट लक्ष्यसहित लाग्नुपर्ने, पद प्राप्तिका लागि मात्रै राजनीतिमा लाग्नु नहुनेमा उहाँहरुकाे जाेड थियो।