add

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत अपराध

काठमाडौं/१३ बैशाख, कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ ।  रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् । २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा–४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो ।
उक्त विस्फोटमा परी स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । विस्फोटको घटना र त्यसपछिका प्रमाण नष्ट गर्न सिंह र मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग नेता आलम, उनका भाइ महताब आलम र शेख सराजसहित ११ जनामाथि थियो ।
कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए भने सोही वर्ष कात्तिक १८ गते उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । पक्राउ परेको डेढ सातापछि जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी हाल नख्खु कारागारमा छन् ।