add

ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/१ बैशाख :  ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हाे।
शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवम महानगर प्रवक्ता राजु महर्जनले सबैभन्दा राम्रो परिक्षण भनेर विश्वमा चिनिएको एच पि भि डि एन ए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर राेग लाग्नबाट बचाउने अभियान सुरु गरेकाे बताउनुभयो । " हामीले पाठेघर क्यान्सर राेकथामका लागि अघिल्लो बर्षदेखि अभिमुखीरण र स्क्रिनिङ्ग कार्यक्रम सुरु गरेका थियौं । गत बर्ष ८ वटा वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा हुनेछ । पहिला अभिमुखीरण, त्यसपछि परिक्षण र परिक्षण पछि डक्टरकाे परामर्शमा निशुल्क उपचार गरिनेछ ।" प्रवक्ता महर्जनले भन्नुभयो ।
ललितपुर महानगरले  स्वास्थ क्षेत्रमा जेष्ठ नागरिकलाई निमाेनियाबाट बचाउन विगत दुई वर्षदेखि निशुल्क भ्याक्सिन सेवा समेत सञ्चालन गर्दै आएकाे जानकारी गराउनुहुँदै उहाँले अघिल्लो महिना ४ सय जनालाई भ्याक्सिन दिएकाे बताउनुभयो । महानगरले जेष्ठ नागरिकसंग महानगर कार्यक्रम अन्तर्गत डक्टरसहित घरमै सेवा प्रदान गरिरहेको बताउनुहुँदै उहाँले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने ब्यवस्था समेत रहेकाे बताउनुभयो ।
हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको बताउनुहुँदै उहाँले स्वास्थ्य विमामा आवद्ध भएका र हुनेहरुका लागि ५० प्रतिशतविमा शुल्क  वडाले व्यहाेर्ने तयारी भैरहेको जानकारी गराउनुभयाे । हाल महानगरले यल स्वास्थ्य केन्द्र  स्थापना गरेर विमाका विरामीलाई २४ सै घण्टा डाक्टर, ल्याब, एक्सरे र ओैषधिसहितकाे सेवा प्रदान गर्दै आइरहेको छ।
ललितपुर महानगर वडा नम्बर १४ का वडा अध्यक्ष अमृत जङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । "समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र जेष्ठनागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो ।" महतले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाको एचपिभिडिएनए बाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताउनुभयाे। नेपाल सरकारले आर्थिक वर्ष २०८० /२०८१ मा कोशी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपिभि डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा गुरु गरी सकेको वताउनु हुँदै उहाँले सन् २०३०सम्म ३० वर्षमाथिका महिलामध्ये नब्बे प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य रहेको जानकारी गराउनुभयाे।
नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसार भरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डिइनए प्रभावकारी विधि हो ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई  नसर्ने रोग लाग्ने गरेकाे तथ्यांक रहेको बताउनुभयाे। महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराउनुभयाे।
महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत बर्ष आठवटा वडामा एच पि भि डि एन ए विधिद्धारा १ हजार  ३ सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएकाे र अहिले उहाँहरुको उपचार महानगरले गराइराखेको जानकारी गराउनु भयाे । उहाँले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराउनुभयाे ।