add

विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर महानगरपालिकाकाे आयाेजना तथा राजदल गण लगनखेल, सशस्त्र प्रहरी बल नेपाल २१ नं. हेटक्वाटर दक्षिणकाली ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र भूकम्प प्रबिधि राष्ट्रिय समाज, नेपालकाे सहकार्यमा भएको अभ्यासमा ११ बर्ष अगाडिकाे त्याे दिनकाे महामारीबाट भएको मानवीय र जनधनको क्षतिकाे चर्चा गर्दै विपद र महामारीबाट बच्न र बचाउनका लागि पूर्वतयारी, सचेतता र सहकार्यमा विपद प्रतिकार्यकाे अभ्यास नै अति जरुरी हुनेमा बक्ता तथा अभ्यासकर्ताहरुकाे सन्देश रहेको थियाे ।
संयुक्त विपद प्रतिकार्य अभ्यासपश्चात् मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विपद खबर गरेर आउँदैन भनेर सूरक्षित हुन प्रतिकार्य अभ्यास गरेकाे बताउनुहुँदै ललितपुर महानगर विपदमा जस्तोसुकै काम पनि गर्न सक्षम रहेको बताउनुभयो ।  
"आजकाे याे अभ्यासमा सबैले राम्रोसँग प्रदर्शनी गर्नुभयाे। २०७२काे भूकम्पमा स्थानीयहरुकाे सहयाेग समन्वय र अभ्यासले सफल भएको थियाे । तर, विपद नआओस्, आइहाल्याे भनेपनि  विपदकाे क्षतिबाट वचन स्थानीय युवाहरूलाई बच्न सम्बन्धी तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । विपदबाट वचन एकता आवश्यक छ।" उपप्रमुख बज्राचार्यले भन्नुभयो । उहाँले दुर्घटना हुँदा परम्परागत भन्दा पनि आधुनिक प्रविधि र व्यवहारिक सीपकाे उपयाेग गरेर लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले अकास्मात आउने भूकम्प, बाढिपहिराे, हावाहुरी जस्ता महामारीबाट हुने हानी, जनधनको क्षति, समस्या र घटनाबाट जाेगिन सचेत रहनुपर्ने बताउनुभयो उहाँले पूर्वतयारीले नै विपदमा आफू र अरुलाई सुरक्षित राख्न सकिने बताउनुहुँदै यसका लागि स्थानीय नागरिक समाज, संघसंस्था र सरकारी कार्यालयले मिलेर काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
महानगरका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयाेजक नारायणलाल अवालेले धनजन, मानवीय क्षति नहाेस् भनेर सचेतना जगाउनका लागि संयुक्त अभ्यासमार्फत नागरिक सचेतनालाई महानगरले जाेड दिंदै आएकाे बताउनुभयो । सानाे गल्तीले गर्दा धेरै धनजन र मानवीय क्षति हुने हुँदा क्षति र जाेखिमबाट वच्नबचाउनका लागि विपद प्रतिकार्य अभ्यास र अभिमुखीकरण कार्यक्रमहरुलाई  प्राथमिकतामा राखिदैं आएकाे जानकारी गराउनुभयाे ।
वडा नं. २२ का अध्यक्ष सागर तुलाधरले गाेरखा बारपाक केन्द्रविन्दु बनाएर वि.सं. २०७२ बैशाख १२ गते गएकाे भूकम्पले बुँगमतीका सात सय वटा घर पूर्ण क्षति भएको स्मरण गर्नुहुँदै सामान्य दुर्घटनाले पनि हुन सक्ने ठूलाे क्षति राेक्न सहकार्य, एकता र सामुहिक भावनाले क्रियाशील हुनुपर्ने बताउनुभयो ।
गाेरखा भूकम्पको ११ बर्ष पूरा भएको दिन आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ललितपुर महानगर प्रहरी, नेपाल स्काउट र स्वास्थ्यकर्मीहरुले प्रतिकार्य अभ्यास, खाेज, उद्दार तथा प्राथमिक उपचारकाे अभ्यासकाे प्रस्तुतिकरण गरेका थिए ।