add

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा देउवाद्वारा धन्यवाद व्यक्त

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १५, शनिबार वर्गीकृत राजनीति

काठमाडौं/१५ बैशाख, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सम्पन्न इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद व्यक्त भएको छ ।

“इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा भएको आजको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।मतदानमा मतदाताले जनाउनु भएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ ।यो उप–निर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको
छु ।" सभापति देउवाले भन्नुभएको छ, "निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उप–निर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याएको छ ।"


सभापति देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै उहाँले निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।