नेसपामा मानिसहरूको आकर्षण बढ्दै गएको छ - डा. भट्टराई
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १८, मंगलबार वर्गीकृत राजनीति
काठमाडौँ/१८ बैशाख: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो पार्टीमा मानिसहरूको आकर्षण बढ्दै गएको बताएको छ। उक्त पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र मानिसहरू प्रवेश गरेकाे जनाइएको छ।
उक्त पार्टीका महाधिवेशन आयाेजक समितिका संयाेजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेसपा पार्टी संगठन निर्माण तथा विस्तार अभियानमा लाग्नुभएकाे छ। सोही सिलसिलामा साेमबार विराटनगरमा ‘नेसपा १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ मार्फत तीन दर्जन बढी मानिसहरू प्रवेश गरेकाे जानकारी उक्त पार्टीको प्रचारप्रसार समितिले जनाएको छ।
उनीहरू सबैलाई नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई हार्दिक स्वागत गर्नुभएकाे जनाएको छ। पार्टीमा स्वागत गर्दै डा.भट्टराईले उनीहरू सबैलाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयाे।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइवी, धोकाधडीको रूपमा होइन त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताउनुभयाे।
पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस भएको उहाँको भनाइ थियो।
साथै अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सन नहुने बताउनुभयाे।


