add

ललितपुरमा डडेलाेबाट दुई जनाकाे मृत्यु , छ स्थानमा आगलागी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १९, बुधबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १९  बैशाख : ललितपुरकाे गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा दुई जना घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि पठाइएकोमा एक जनाकाे उपचारको क्रममा मृत्यु मंगलबार नै मृत्यु भएको र अर्का एक जनाकाे उपचारकाक्रममा बुधबार विहान मृत्युु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराउनुभयाे ।

"आगलागी निभाउनेक्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएकोमा घाइतेमध्ये शङ्कर पहरीको मंगलबार र अर्का घाइते रमेश पहरीकाे आज बुधबार बिहान मृत्यु भएको हाे। उहाँले भन्नुभयो ।
मंगलबार राती १० बजेसम्म ललितपुरका छ स्थानमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराउनुभयाे । मंगलबार राती १० बजेसम्म गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवको सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ५ महादेव खोला सत्य सामुदायिक वन, बागमती गाउँपालिका वडा नं. ५ कुँडुल्लेकाे सरकारी वन, गोदावरी नगरपालिका वडा नं. ४ बडिखेलको तपेश्वर मन्दिर वन, महालक्ष्मी नगरपालिका वडा नं. ३ लुभु पातले सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ९ छेडा सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ३ जयभद्र सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं.१० चारघरे सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ९ ढुङगेनी पातले सामुदायिक वन र गोदावरी नगरपालिका वडा नं. २ ताप्लेछाप सामुदायिक वनमा आगलागी भैरहेकाे छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार यी सबै जंगलमा आगलागी भएपनि बस्ती मानव वस्ती भने सुरक्षित रहेकाे छ । आगलागी नियन्त्रणका लागि अहिले पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितकाे टाेली खटिएको जानकारी उहाँले गराउनुभयाे ।

ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३/४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको थियाे । आनन्द वनमा डढेलो फैलिएसँगै प्रहरी र स्थानीयकाे टाेलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका बिरामीलाई बज्रबाराही अस्पताल पुर्‍याउने र अन्यत्र सार्ने काम गरि सुरक्षित बनाइएको वडा नं. ५ का अध्यक्ष तथा गाेदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी गराउनुभयाे ।  ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सिल्वालको भनाई छ। यस्तै मंगलबार डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको थियो ।