add

डंडेलाे मृतकका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख २०, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ २० बैशाख, गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते  भई उपचारको क्रममा मृत्युु भएकाकाे  परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख दिने भएको छ । आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठककाे निर्णयले मृतक शंकर पहरी र रमेश पहरीका परिवारलाई तत्कालै पाँच/पाँच लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी गराउनुभयाे ।
"आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठक सम्पन्न भयाे,  यस दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार पाँच/पाँच लाख उपलब्ध गराउने निर्णय भएको छ।  " नगरप्रमुख महर्जनले भन्नुभयो

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले यो दुःखद क्षण, पर्यावरणीय क्षतिको विपत्ती र कुनै पनि प्रकारको विपदमा नगरपालिका सदैव आम नगरवासीको साथ रहने प्रतिवद्धता व्यक्त गर्दै अनवरत खट्नुहुने सम्पूर्ण महानुभावहरुमा उच्च सम्मानका साथ सचेत, सतर्क र एकतावद्ध रहनहुन हार्दिक अपिल गर्नुभएकाे छ।
"गोदावरी नगरपालिका लगायत देशै भरी डढेलो र आगजनीको घटनाले ठूलो संख्यामा धनजनको क्षती, पर्यावरणीय क्षति पुगेको छ। यस नगरपालिको सबै वडाहरुमा भिषण डढेलो लागेको र आगो नियन्त्रणका सवै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रणको लागि नगर प्रहरी, नेपाली सेना, नेपाल
प्रहरी,सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रक सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायीक वनका
पदाधिकारी एवम सदस्यहरुको अथक प्रयासको उच्च सम्मान गर्दछौं । आगो नियन्त्रणको लागि तत्काल दमकल
उपलब्ध गराउनुहुने नेपाली सेना र ललितपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गर्दछौं। आगो नियन्त्रणकै क्रममा यसै नगरपालिका वडा नं. ४ वडिखेल निवासी श्री शंकर पहरी र श्री रमेश पहरीको दुःखद निधन भएकोमा सम्पूर्ण नगरपालिका परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।" विज्ञप्तिमा भनिएकाे छ।
आगलागी निभाउने क्रममा घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि पठाइएकोमा उपचारको क्रममा एक जनाकाे मंगलबार र अर्का एक जनाकाे आज बुधबार बिहान मृत्यु भएको हाे।
आगलागी नियन्त्रणका लागि अहिले पनि नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी लगायतकाे टाेली क्रियाशील रहेकाे ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी गराउनुभयाे ।