'मातृभाषा पत्रकारिता सम्मेलनले अन्तरसांस्कृतिक सम्बन्ध र विविधताकाे प्रवर्द्धन हुनेछ।'
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २०, आइतबार वर्गीकृत राष्ट्रिय
ललितपुर/ २० जेठ: प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा भाग लिने अधिकाँश वक्ताहरुले याे सम्मेलनबाट अन्तरसांस्कृतिक सम्बन्ध र विविधताकाे प्रवर्द्धन हुनेछ भन्ने धारणा राख्नुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा शनिबारदेखि ललितपुरमा आयोजना गरिएको दुई दिवसीय अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनकाे उद्घाटन समारोहमा धारणा राख्नुहुने वक्ताहरुले मातृभाषामा पत्रकारिता गर्दा बहुभाषिक संस्कृतिलाई अझ सशक्त बनाउन मद्दत मिल्ने बताउनुभएको हाे ।
सार्क जर्नलिष्ट फाेरमका अध्यक्ष राजु लामाले प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा नै मातृभाषामा पत्रकारिताकाे अभ्यास गर्नेहरुलाई प्राेत्साहित गर्न सहयाेग पुर्याउने बतनउनुभयाे । "याे सम्मेलन सुरुवात भयाे, मातृभाषा पत्रकारिताकाे प्रवर्द्धन, विकास र उत्थानका लागि याे सम्मेलन महत्त्वपूर्ण हुनेछ । याे अन्तर्राष्ट्रिय सम्मेलन मात्रै नभएर मातृभाषामा पत्रकारिता सुरु भएको शताब्दी बर्षकाे अवसरमा आयाेजित कार्यक्रम पनि हाे, तसर्थ शताब्दी बर्षकाे सन्दर्भमा विभिन्न देशमा बर्षभरि कार्यक्रमहरु सञ्चालन गरेर समापन समारोह काेलकत्तामा गर्ने हाम्रो प्रयास रहन्छ ।" उहाँले भन्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार समाज (फाेनिज)का अध्यक्ष गजुरधन राईले अन्तर्राष्ट्रियस्तरकाे मातृभाषा पत्रकारिता सम्मेलन विश्वमा नै पहिलोपटक नेपाल भएकाे भन्नुहुँदै नेपालमा मातृभाषा पत्रकारिताकाे अवस्था दहनीय रहेकाे बताउनुभयो । उहाँले मातृभाषा पत्रकारिताकाे विकास र प्रवर्द्धनका लागि राज्यको तर्फबाट प्राेत्साहित हुन सकेको छैन भन्नुहुँदै सबै मातृभाषाकाे विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो । नेवा: पत्रकार दबूकाे आयाेजनामा भएको याे सम्मेलनले सबै देशका मातृभाषाकाे पत्रकारिता गर्नेहरुलाई सुसूचित गराउने र नेपालका लागि मात्रै नभएर दक्षिण एसियाकै लागि याे सम्मेलन मार्गनिर्देशन हुनेछ भन्ने बताउनुभयो ।
भाषा आयाेगका सदस्य सुरेशकिरण मानन्धरले बागमती प्रदेशबाट पारित भएको भाषा ऐन कार्यान्वयनका लागि भाषा आयाेगले काम गर्ने बताउनुभयो । उहाँले भाषा आयाेगले मातृभाषाकाे पत्रकारितालाई जाेडेर आफ्ना कार्यहरु गर्दै जाने बताउनुहुँदै भाषाकाे संरक्षण र मातृभाषाकाे संरक्षणका लागि पत्रकारिताले ठूलाे भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले मातृभाषाकाे संरक्षणका लागि विद्यालय तहमा काठमाडौं महानगरपालिकाबाट सु भएको अभियान देशभर पुर्याइनुपर्ने बताउनुभयो ।
सार्क जर्नलिष्ट फाेरम भारतका अनिरुध सुधाँशुले भारत बहुभाषिक संस्कृति भएको देश भएको बताउँदै बहुभाषामा पत्रकारिता गरिरहेर बहुभाषिक संस्कृतिलाई अझ सशक्त बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले मातृभाषाकाे विकास र संरक्षण बिना लाेकतन्त्रका साथै बिचार तथा अभिब्यक्ति स्वतन्त्रताको विकास हुन नसक्ने बताउनुभयो । पत्रकारिता भाषामा निर्भर रहने बताउँदै मातृभाषाकाे विकास बिना पत्रकारिता समृद्ध हुन नसक्ने प्रष्ट पार्नुभयाे
काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा सम्मानित व्यक्तित्व विद्यासुन्दर शाक्यले देशकाे संविधान अनुसार मातृभाषाका संरक्षणका लागि सबैकाे सहयाेगबाट सम्भव भएको बताउनुभयो । मातृभाषाकाे संरक्षण र विकासले देशलाई एकताबद्ध बनाउने भन्दै सबैभाषालाई संरक्षण गरेर अनेकतामा एकता कायम गर्नुपर्ने बताउनुभयो ।
नेवा: पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्षकाे अवसरमा आयाेजित यस सम्मेलनले नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा समेत मातृभाषा पत्रकारिताकाे अनुभव, याेगदान र विकासका लागि महत्त्वपूर्ण छलफल हुने बताउनुभयो ।
दबूका बरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले दबूकाे स्थापनाकाे उद्देश्यका साथै, मातृभाषा पत्रकारिताकाे विकासका लागि भएको कार्यहरुकाे जानकारी गराउनु थियाे । उहाँले मातृभाषा पत्रकारिताकाे विकासका लागि नेपालमा मात्रै नभई एसियाली पत्रकारहरुकाे सहकार्य हुनुपर्ने बताउनुभएको थियाे । उहाँले मातृभाषा पत्रकारिताकाे विकासले बिचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।
सम्मेलनका संयाेजक तथा नेवा: पत्रकार दबूका उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले धर्माद्वित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता सुरु गरेको एक सय बर्ष भएकाे अवसरमा सम्मेलन आयाेजना भएको बताउनुहुँदै अन्तर्राष्ट्रियस्तरमा मातृभाषा पत्रकारिता सम्मेलनबाट सकरात्मक सन्देश जाने बताउनुभयो । यसले बिचार तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभावका सन्दर्भमा छलफल तथा व्यापक बहस आवश्यक छ भन्नुहुँदै मातृभाषा पत्रकारिताप्रति राज्यको बेवास्तालाई चिर्न पनि हामीले यसलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ भन्ने बताउनुभयाे।
सम्मेलनमा मातृभाषाकाे पत्रकारिताकाे विकासमा सहयाेग पुर्याएवापत काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य र याेगदान पुर्याएवापत नेवा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियाे । त्यस्तै मन्त्रीपरिषदकाे निर्णयबाट भाषा आयाेगकाे सदस्यकाे जिम्मेवारी पाउनुभएका सुरेश किरण मानन्धर, गुठी विद्येयक निर्माणका लागि संयाेजककाे जिम्मेवारी पाउनुभएका किरण शाक्यलाई समेत सम्मान गरिएको थियाे ।
एक सय वर्षअघि पत्रकार धर्मादित्य धर्माचार्यले पहिलोपटक मातृभाषामा भारतकाे कलकत्ताबाटनेपालभाषाकाे पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन गरी प्रकाशन गर्नुभएकाे थियाे । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयाेजित सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहेकाे छ। सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीहरुले भाग लिनुभएकाे छ। शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सम्मेलनकाे दाेस्राे दिनका कार्यक्रमहरु आज आइतबार मध्यपूर थिमीमा हुने नेवा: पत्रकार दबूका उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सुरेन्द्र भक्त श्रेष्ठले जानकारी गराउनु भयाे ।


