add

ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन नीतिगत व्यवस्था गर्नेछौं - महानगरप्रमुख महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ३०, बुधबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/३० जेठ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अब उप्रान्त उर्जा प्रभावकारी भवन निर्माणका लागि प्राेत्साहन गर्दै यसका लागि जनचेतना जगाउने बताउनुभएको छ । महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न शुक्रबार ललितपुर महानगरपालिका र "विल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन)"बीच हस्ताक्षर कार्यक्रममा मन्तव्य राख्नुहुँदै  महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न विद्युतीय सवारी प्रयाेग गर्नेलाई कर छुट दिएजस्तै उर्जा प्रभावकारी भवन निर्माण गर्नेलाई पनि छुट दिने नीति ल्याउन सकिने बताउनुभएको हाे ।
"हामी यसलाई महानगरकाे नीतिगत व्यवस्थामा समावेश गर्नेछौं, यसका लागि आगामी नगरसभाबाट पारित गर्ने प्रयास गर्नेछौं, सम्भव भएन भने हिउँदे अधिवेशनमा पारित गर्नेछौं ।" उहाँले भन्नुभयो ।
नगरप्रमुख महर्जनले उर्जा दक्षता उपयाेगी ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्नका लागि यस सम्बन्धी बिषयमा जनप्रतिनिधि र कर्माचारीलाई तालिम दिनुपर्ने बताउनुहुँदै यसका लागि विनले समन्वय र सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महानगरकाे भवन निर्माण संहिता र नियमावलीमा समावेश गर्ने बताउनुहुँदै यसका लागि जनप्रतिनिधि र सबै कर्मचारीहरूलाई अभिमुखीकरण गर्दै महानगरवासीहरुमा सचेतनाका लागि प्रचारप्रसार गर्ने बताउनुभयो ।
उहाँले वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेकाे भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालकाे उर्जा दक्षता भएको बताउनुभयाे । 
" पाटन दरवार क्षेत्रमा गर्मीमा शितलता, जाडाेमा न्यानाेपन मिल्छ, त्याे समयमा अहिलेजस्ताे इन्जिनियर थिएनन्,  त्यस्तो समयमा पनि दूरगामी महत्त्वका साथ भवन निर्माण गर्ने परम्परा थियाे, अब पनि एसी र कुलर प्रयोग गर्नुनपर्ने खालकाे ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गरेर भवन निर्माणका लागि प्रचारप्रसार गर्नैपर्छ ।" उहाँले भन्नुभयाे ।
सम्झाैतापत्रमा हस्ताक्षर पछि मन्तव्य राख्नुहुँदै परियोजनाका 'लिडर' डानिल नेयरले याे दीर्घकालीन प्रभाव पार्ने परियाेजना भएको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि समेत उपयाेगी हुने उर्जा दक्षतामैत्री भवन महानगरभित्र निर्माणका लागि  सम्झौता गरेर याे महत्त्वपूर्ण कामकाेे सुभारम्भ गरेकाेमा ललितपुर महानगरपालिकालाई धेरैधेरै धन्यवाद भन्दै यसले नयाँ पुस्ताका मानिसहरुकाे स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले प्राकृतिकमैत्री भएको याे घर आर्थिक हिसाबले समेत उपयुक्त र राम्रो  हुन्छ भन्ने बताउनुभयो ।
शहरी बिकास समितिका सदस्य तथा वडा नं. ४ का अध्यक्ष सन्ताेष खड्काले याे व्यवस्थालाई सुरुमा सरकारी भवन र सार्वजनिक भवन निर्माणमा लागू गर्ने प्रयास गरिने बताउनुभयाे । उहाँले महानगरमा आधुनिकता भन्दा पनि कसरी वातावरणमैत्री बनाउने भन्नेमा लागि पर्नेछाैं भन्ने बताउनुभयो । प्राविधिक जनशक्तिलाई तालिम दिंदै प्रचारप्रसारकाे माध्यमबाट सर्वसाधारणहरुमा जनचेतना जगाउन सके परियाेजनाले पूर्ण सफलता पाउने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विनका "टिम लिडर" सुयश प्रजापतिले याे परियाेजनाका लागि विनले ६ वटा प्रदेशका ६० वटा पालिकाहरुसंग मिलेर काम गरिरहेकाे बताउनुभयो । उहाँले विश्वका अति शहरीकरण हुने देशहरुमध्ये दश भित्र नेपाल पर्ने भन्दै उर्जा दक्षतामैत्री भवन निर्माणले मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।
महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न ललितपुर महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र  "विल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन)"का तर्फबाट परियोजनाका 'लिडर' डानिल नेयरले हस्ताक्षर गर्नुभएको थियाे ।