ललितपुर महानगरकाे नीति तथा कार्यक्रममा सांसदहरूकाे सुझाव "नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्छाैं ।"
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ३०, बुधबार वर्गीकृत स्थानीय-समाज
ललितपुर/ ३० जेठ : ललितपुर जिल्लावाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्ने बताउनुभएको छ। आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा सोमबार आयाेजित ललितपुर जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरुसंग अन्तरक्रियामा सुझाव राख्नेक्रममा प्रतिवद्धता जनाउँदै संघीय सांसद तथा प्रदेशसभा सदस्यहरुले पूर्वाधारकाे विकास र पूँजीगत खर्चमा वृद्धि गर्नका लागि स्थानीय सरकारलाई परेकाे समस्यामा कानूनी सहजीकरणका लागि ध्यान दिएर सहयाेग गर्ने बताउनुभएको हाे ।
अन्तरक्रियामा सुझाव तथा धारणा राख्नुहुँदै पूर्वअर्थ राज्यमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. १ का सांसद उदयशम्शेर राणाले अहिलेकाे अवस्थामा अर्थतन्त्र चलायमान बनाउन बजारमा पैसाकाे काराेवारलाई बनाउने नीति आउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई सहयाेग र समर्थन गर्ने दायित्व यस जिल्लाबाट निर्वाचित संघीय सांसद र प्रदेशसभा सदस्यहरुकाे रहेकाे धारणा राख्नुहुँदै महानगरले विगतमा गरेका कामहरुकाे प्रशंसा गर्नुभयाे ।
"नागरिकलाई सेवा दिन तपाईंहरुलाइ परेको समस्या समाधान गर्न तपाईंहरुलाई हरतरहले सहयाेग गर्छाैं, पूर्वाधारकाे खर्चमा वृद्धि हुने व्यवस्था मिलाउनुस् । पूँजीगत खर्चमा वृद्धि हाेस्।उपत्यकाको फाेहाेर मैला व्यवस्थापनलाई बढि नै ध्यान दिनु जरुरी छ। स्थानीय सरकारलाई सहयाेग र समर्थन गर्ने हाम्रो दायित्व हाे ।" उहाँले भन्नुभयो ।
उहाँले महानगरभित्रकाे पार्किङकाे व्यवस्थापनलाई पनि विशेष ध्यान दिनुपर्नेछ भन्दै अन्डरग्राउण्ड पार्किङलाई व्यवसायिक र करकाे दायरामा ल्याउने गरि नीति बनाउनुस् भन्ने सुझाव राख्नुभयाे । ललितपुर महानगरले शहरी साैन्दर्यतामा ध्यान दिएकाे छ भन्दै उहाँले यसकाे प्रशंसा गर्न चाहान्छु भन्नुभयो ।
पूर्वस्वास्थ्य राज्यमन्त्री प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. ३ की सांसद डाक्टर ताेसिमा कार्कीले नागरिककाे सन्तुष्टिकाे आधारमा कर संकलन गर्ने र संकलित करलाई प्रभावकारी रुपमा खर्च हुने व्यवस्था हाेस् भन्ने सुझाव राख्नुभयाे । प्रस्तावित नीति तथा कार्यक्रमकाे अध्ययन गर्नुहुँदै उहाँले नीति तथा कार्यक्रम अत्यन्तै उपयाेगी छन् भन्दै यसकाे प्रभावकारी कार्यन्वयन हाेस् भन्ने सुझाव राख्नुभयाे । "महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फाेहाेरले धापाखेल र वडा नं. ४ काे मल पाेखरीमा समस्या देखिएकाे छ, सांस्कृतिक सम्पदाकाे संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी मन्दिर र राताे मच्छिन्द्रनाथकाे मन्दिर निर्माणमा ढिला भएको छ, याे छिटोभन्दा सम्पन्न हुनुपर्याे, महालक्ष्मी चाेकमा भक्तराज आचार्यकाे सालिक बनाउने कुराकाे सम्भाव्यता अध्ययन गरिनुपर्ने छ।" डाक्टर कार्कीले भन्नुभयो ।
उहाँले महानगरभित्रका फाेहाेर मैला व्यवस्थापनमा सबै संघसंस्थाहरुकाे समन्वय हुनुपर्ने, नागरिकलाई फरकफरक शुल्क असुल्नु भएन भन्ने धारणा राख्नुभयाे । उहाँले महानगरकाे जनघनत्व बढ्दैछ भन्नुहुँदै सार्वजनिक जग्गाकाे व्यवस्थापन र उपयाेगमा आउने गरी खुला राख्न आवश्यक रहेकाे बताउँदै सार्वजनिक जग्गाकाे नक्साङ्कन र सिमाङ्कन हाेस् भन्ने धारणा राख्नुभयाे।
प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. २ का सांसद प्रेमबहादुर महर्जनले भाैतिक पूर्वाधारका लागि नीति तथा कार्यक्रम र बजेट केन्द्रीत भएकोमा खुसी छु भन्दै साइकल लेनका लागि गरेकाे प्रयास राम्रो छ भन्ने धारणा राख्नुभयाे । उहाँले प्रदुषण न्युनिकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साईकलकाे प्रयाेगलाई बढाउन प्राेत्साहन गराैं भन्ने सुझाव राख्नुभयाे।
"वायु प्रदुषणलाई नियन्त्रण गर्न, हरियाली प्रवर्द्धन गर्न नदिकाे वरपर वृक्षरोपणमा ध्यान दिओैं, जातीय समुदायसंगकाे समन्वय हाेस्,माेवाइल अस्पताल सञ्चालन गर्ने ब्यवस्था हाेस्, सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न अलि ध्यान दिओैं, विद्युतीय सवारीलाई प्राेत्साहन गराैं ।" उहाँले भन्नुभयो ।
उहाँले स्थानीय जलस्रोतको संरक्षण गर्नुपर्ने बताउँदै पाेखरीकाे संरक्षणमा जाेड दिओैं भन्ने सुझाव राख्नुभयाे । साना तथा घरेलु उद्योगकाे संरक्षण र प्रवर्द्धनका लागि ध्यान दिनुस् भन्नुहुँदै उहाँले प्रशासनिक सुधार र सेवा प्रवाहमा ध्यान दिनु पर्याे भन्ने सुझाव राख्नुभयाे ।
प्रतिनिधिसभा सदस्य राेशन कार्कीले सरकारी स्वामित्वमा रेडियो नेपालकाे जग्गा दूरसञ्चार प्राधिकरणलाई विक्री गर्नबाट महानगरले राेक्नुपर्छ भन्ने धारणा राख्नुभयाे । "सार्वजनिक जग्गा, खुला स्थानकाे संरक्षणमा ध्यान दिनुपर्छ, महेन्द्र आदर्श मा.वि.काे जग्गाबाट उठेकाे भाडा विद्यालयकाे स्तराेन्नतिमा उपयाेग हुन नसकेको अवस्था छ, महानगरले ध्यान दिनुपर्याे, स्वच्छ खानेपानीकाे व्यवस्थाका लागि ध्यान दिनुपर्याे, धाराकाे बिल तिर्छाैं, तर पानीकाे व्यवस्था हुन सकेन, मेलम्चीको खानेपानीलाई व्यवस्था गरेर घरघरमा पुर्याउनु पर्याे, स्वच्छ तरकारी खान पाउने अवस्था सृजना गर्नका लागि कुनै खाली सार्वजनिक स्थानमा हप्ताको दुई दिन हाट बजारकाे व्यवस्था गरिनुपर्छ।" उहाँले भन्नुभयो ।
उहाँले सरकारी विद्यालयहरुकाे स्तराेन्नति गर्ने याेजना, महानगरभित्र जन्मने बच्चाहरुकाे जन्मदर्तालाई सहज बनाउने नीति समावेश गरिनुपर्ने बताउनुभयाे । उहाँहरुले मृगौला, क्यान्सर पीडितहरुकाे लागि सेवा सुविधाको व्यवस्था गरिनुपर्ने सुझाव राख्नुभयाे । उहाँले राेग लाग्न नदिन जनचेतना र स्वास्थ्य शिविरहरु गरिनुपर्नेमा जाेड दिनुभयाे ।
बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगाे विकास लक्ष्य र सम्पदा संरक्षणकाे क्षेत्रमा महानगरले राम्रो काम गरेको छ भन्नुहुँदै अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता देओस् भन्ने सुझाव राख्नुभयाे ।
"पुराना सम्पदा संस्कृति संरक्षणमा अक्षयकोष स्थापना गर्ने कामलाई अझ जाेड दिनुपर्नेछ, अपाङ्गतामैत्री संरचनामा महानगरले विशेष ध्यान दिएकाे छ, यसलाई अझ बढि प्रभावकनरी र परिणाममुखी बनाउन संघीय र प्रदेश सभालाई पनि जाेड्नुपर्छ । पूर्वाधारकाे विकाससंगै नागरिकहरुकाे जीवनशैली सहज बनाउन पनि ध्यान दिनुपर्छ, युवा विदेशिने समस्यालाई राेक्न नागरिकको आयस्तर वृद्धि गर्ने गरि परिणाममुखी नीति लागू गर्न आग्रह
सार्वजनिक यातायातलाई नागरिकमैत्री बनाउन र समस्याहरित बनाउने गरि लाग्न आग्रह गर्दछु। " उहाँले भन्नुभयो ।
उहाँले करिडोरका सडकहरुलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयाे । सहकारी ठगी र अपचलनलाई गम्भीरताका साथ लिंदै क्षेत्राधिकारभित्र पर्ने सहकारीहरुकाे नियमन प्रभावकारी बनाउन आग्रह गर्नुभयाे । उहाँले बागमती प्रदेशले सरकारी कामकाजकाे भाषामा मान्यता दिएकाे नेपाल भाषालाई ओैपचारिक शिक्षामा मात्रै हैन अनाैपचारिक शिक्षाकाे रुपमा समेत शिक्षणकाे व्यवस्था गरिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयाे । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा वायु प्रदुषण न्युनिकरणकाे मुद्दा प्राथमिकतामा पराेस् भन्ने सुझाव राख्नुभयाे । उहाँले ललितपुर महानगरलाई हस्तकलाकाे राजधानी बनाउनुपर्छ भन्दै त्यसकाे लागि पूर्वाधार विकास गराैं भन्ने धारणा राख्नुभयाे ।
बागमती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्र भएका खेती याेग्य जमिनलाई उपयाेग हुने गरि कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्याे भन्ने धारणा राख्नुभयाे ।
"स्वयम् सेविकाहरुलाई सुविधाको व्यवस्था गरिनुपर्छ, महानगरमा दर्ता भएका उद्योगका लागि सहजीकरण हुने नीति आउनुपर्छ । प्रत्येक वडामा जेष्ठ नागरिक क्लव स्थापना गर्ने नीति आउनुपर्याे ।" उहाँले भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले संघ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुग्नेगरी संयुक्तरूपमा मिलेर नीति तथा कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयाे । उहाँले यहाँकाे ढुंङ्गेधारा संरक्षणका लागि राजकूलाेलाई यथाशीघ्र सञ्चालनमा ल्याउने ब्यवस्था मिलाइनु पर्ने बताउनुभयो । स्थानीय सरकारले लागू गरेको नीति तथा कार्यक्रमबाट लाभ हासिल भएको महसुस नागरिकले गर्नेगरी नीति तथा कार्यक्रम तर्जुमा गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयाे । महानगरवासीहरुलाई मेलम्चीको पानीले कुनै लाभ नहुने भन्दै ललितपुरकै ठाेट्ने खाेलाकाे पानी ल्याउने नीति तय गर्न आग्रह गर्नुभयाे ।
संघीय सांसद तथा प्रदेश सदस्यहरुकाे सुझाव ग्रहण गर्नुहुँदै महानगरप्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा टेण्डर गर्ने नीति लिनु नहुने भन्दै यसका लागि संसदमा आवाज उठाएर कानूनी रुपमा लागू गर्न आग्रह गर्नुभयाे ।
"संघीय सरकारकाे कमजाेरीका कारण हामीलाई गाली गर्ने अवस्थाकाे अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासकाे बाधक छ, यसले ठेकेदार माेटाउँछ, देशकाे विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाकाे फाेहाेर मैला व्यवस्थापनका लागि संघीय सरकारले जुन २०११ मा गरेकाे सम्झौता बाधक छ, यसलाई ध्यान दिनस्।" उहाँले भन्नुभयो ।
उहाँले प्राप्त सुझावहरुकाे आधारमा यहाँकाे सम्पदा संरक्षण, बाताबरण संरक्षण, नगरविकासका सम्बन्धमा आगामी वर्षकाे नीति तथा याेजनालाई जनमुखी हुन सक्ने गरी नीति तथा कार्यक्रम तय गरिने बताउनुभयो ।
अन्तरक्रियामा सांसदहरू तथा प्रदेशसभा सदस्यहरुले राख्नुभएको जिज्ञासाहरु समेतकाे जवाफ दिनुहुँदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताकाे मर्मलाई सम्बाेधन गर्नेगरी सहकार्य, सहअस्तित्वकाे आधारमा काम गर्ने बताउनुभयो । उहाँले खानेपानीको समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले महानगरभित्र आफ्नै जलस्रोतकाे व्यवस्थापन नभएकोले जिम्मेवारी पालिका र छिमेकी जिल्लामा पालिकाकाे भर पर्नुपर्ने अवस्था रहेकाे बताउँदै त्यसका लागि काम गरिरहेकाे बताउनुभयो ।


