नागवहालमा रात्रीकालीन व्यापार मेला हुने
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १०, सोमबार वर्गीकृत स्थानीय-समाज
ललितपुर/ १० असार: ललितपुर महानगरपालिकाकाे वडा नं. १६ काे महिला समितिकाे आयाेजनामा यही असार ११ र १२ गते पाटनकाे नागवहालमा रात्रीकालीन व्यापार मेला हुने भएको छ ।
शनिबार यहाँ पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायका साथ पहिलाे पटक साँझ ५ बजेदेखि ९ बजेसम्म रात्रीकालीन व्यापार मेला गर्न लागिएको हाे ।
रात्रीकालीन व्यापार र बजारलाई प्राेत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाकाे प्रवर्द्धन, स्थानीय उत्पादनकाे बजारीकरण गर्ने र पर्यटनकाे विकास गर्ने उद्देश्यका साथ मेला आयाेजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयाेजक वविता श्रेष्ठले जानकारी गराउनुभयाे ।
"हस्तकलाकाे प्रवर्द्धन, पर्यटनकाे विकासका लागि याे पहिलो र सानाे प्रयास हाे, पाटनलाई २४ सै घण्टा जागृत गराउने उद्देश्यले कार्यक्रम गर्दै याे क्षेत्रलाई उकास्न दीर्घकालीन याेजना अनुसार काम गर्ने लक्ष्यका साथ पहिलोपटक याे मेला गर्न लागिएको हाे।" उहाँले भन्नुभयो ।
वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे शहरमा बसेका स्थानीयहरुलाई आयआर्जनमा जाेड्न याे प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो ।
"याे मेलामा हस्तकला महासंघ, पाटन पर्यटन विकास संस्थाकाे पनि सहयाेग रहने विश्वास छ, महानगरपालिकाकाे दीर्घकालीन याेजनालाई सहयाेग पुर्याउने उद्देश्य अनुसार याे कदम चालिएको हाे ।महिलाहरुले घरघरमा उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरु विक्री गरेर आर्थिक उपार्जन गर्न सक्ने अवसर मिल्ने छ। " उहाँले भन्नुभयो ।
उहाँले यस कार्यबाट स्थानीय श्रम, सीप र क्षमताकाे बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । मेलाका समयमा सांगीतिक कार्यक्रमहरु समेत सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयाे ।
मेलामा स्थानीय हस्तकलाका सामग्रीहरु, स्थानीय नेवारी खानाका परिकारहरु समावेश हुने आयाेजकले जनाएको छ। जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको याे कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी बर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत रुपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयाे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई 'स्मार्ट सिटी' बनाउने अभियानभित्रै 'पाटन डज नट स्लीप' याेजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधार सहित विपद व्यवस्थापनलगायतका कामहरु गरेर मात्रै घाेषणा गर्ने बताउँदै आउनुभएको छ। ---