add

ठुलादुर्लुङबासीहरुलाई कफीका बिरुवा वितरण

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १४, शुक्रबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १४ असार: ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका वडा नं ६ ठुलादुर्लुङद्वारा वडाबासीहरुलाई कफीका बिरुवा वितरण गरेको छ। यही असार १३ गते विहिबार यहाँ वडा कार्यालयले स्थानीयहरुलाई भेला गरेर कफीका बिरुवा वितरण गरेको वडा अध्यक्ष विनोद चौरेलले जानकारी गराउनुभयो । वडाबासीलाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादन बृद्धि गर्ने उद्देश्यले जिल्ला कफी व्यवसायी संघसंगको समन्वयमा वडाका १ सय ५५ परिवारलाई कफीका बिरुवा वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।
बिरुवा वितरण पश्चात् मन्तव्य राख्नुहुँद‌ै गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोलेले वडा कार्यालयबाट भएको यो कार्यले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।
''वडावासीलाई आर्थिक रुपमा सबल बनाउनका लागि यो ठूलो काम हो, यसबाट स्थानीय उत्पादन वृद्धि गर्न सहयोग पुग्नेछ, आम्दानीमा वृद्धि हुनेछ, रोजगारीको अवसर समेत सिर्जना गर्ने विश्वास छ।यस कदमले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने मेरो विश्वास छ।'' उपाध्यक्ष गोलेले भन्नुभयो ।
''हामीले विरुवा वितरणका लागि वडा कार्यालयबाट १ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो, सोही रकमबाट विहिबार कफीका ४६ सय वटा विरुवा वितरण गरिएको हो, आगामी असार १७ गते लिचिका १ हजार वटा बिरुवा वितरण गर्ने कार्यक्रम रहेको छ। हामी हाम्रो समुदायलाई आत्मनिर्भर बनाउन प्रयासरत छौं। कफी खेतीले वडाबासीलाई आर्थिक रुपमा सबल बनाउनेछ।'' उहाँले जानकारी गराउनुभयो ।