स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको छ - बागमती प्रदेश मन्त्री श्रेष्ठ
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १७, सोमबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ १७ असार : बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको बताउनुभएको छ। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिरहेका ३४ जना महिला स्वयंसेविकाहरुकाे विदाईका लागि जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आइतबार यहाँ आयाेजना गरेकाे कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले संविधान र अनुसार आधारभूत स्वास्थ स्थानीय सरकारकाे एकल अधिकारमा भएपनि स्थानीय तहकाे स्राेत कम भएको कारणले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयाेग गरिरहेको जानकारी गराउनु भएकाे हाे ।
"सबै अस्पताललाई बागमतीप्रदेश सरकारले ओैषधि,खाेप, भ्याक्सिन, तालिम, गाेष्ठी लगायतमा सहयाेग गर्ने छ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछाैं, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन लागि परेका छाैं। यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरुकाे जीवन विमा समेटिएको र बजेट व्यवस्था गरिएको छ,
कसरी सेवा दिन सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालय लागिरहेको छ।" उहाँले भन्नुभयो ।
उहाँले उत्पादनसंग जाेडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याकाे सिकार बनिरहेको भन्दै यसकाे न्युनिकरणका लागि मनाेसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको छ जानकारी गराउनुभयाे । उहाँले समुदायसंग मिलेर मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेका छाैं भन्नुहुँदै उहाँले उपचारात्मकका साथै जनचेतनामूलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएका छाैं भन्नुभयाे ।
उहाँले महिला स्वयंसेविकाहरुलाई अनुभवले अर्जन गर्नुभएको सीपलाई पुस्तान्तरण गर्न लाग्नुस् भन्ने आग्रह गर्नुहुँदै निराश नई क्रियाशील रहन आग्रह गर्नुभयाे ।
"आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुकाे सुरक्षामा महिला स्वास्थ्य स्वयमसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान पाउन सफल भएको छ, स्वास्थ्यकर्मी भन्दा पहिला घरघरमा पुगेर आजकाे प्रविधिको युगसम्म समाजलाई स्वस्थ्यशिक्षामा अव्वल बनाउन महत्त्वपूर्ण याेगदान पुगेको छ, समाज परिवर्तनमा ठूलाे भूमिका प्रशंसनीय छ।" उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयालले समाजकाे सेवामा पुर्याएकाे याेगदानकाे सम्मान गर्दै नयाँ पुस्तालाई आफ्नाे ज्ञान र सीप हस्तान्तरण गर्न आग्रह गर्नुभयाे। उहाँले ललितपुरकाे हकमा पाटन अस्पतालले मात्रै विरामीकाे चाप खेग्न नसकेको बताउँदै प्रदेश माताहातका स्वास्थ्य संस्थाहरुकाे क्षमता र सेवासुविधा वृद्धि गर्नुपर्ने बताउनुभयो
"प्रदेश र स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाहरुकाे क्षमता अभिबृद्धि गर्नुपर्छ, नागरिकले प्रत्यक्ष लाभ हासिल गर्नसक्छन्।" उहाँले भन्नुभयाे
महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर के.सीले सरकारले उपलब्ध गराएकाे सेवासुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष दश हजार रुपैयाँका दरले प्राेत्साहन रकम उपलब्ध गराउँदै आएकाे बताउनुभयो।
"निस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ,आगामी दिनहरुमा पनि गाउँटाेलमा सेवा पुर्याउनु हुनेछ भन्ने विश्वास छ।" अध्यक्ष केसीले भन्नुभयो ।
काेञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले नेपालकाे संविधानले शिक्षा र स्वास्थ व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भएपनि संघ र प्रदेशका जिल्ला तहका कार्यालयले गरेका कामहरुकाे बारेमा जानकारी नै नहुने गरेको भन्दै आक्राेश व्यक्त गर्नुभयाे । "संघ र प्रदेशका कार्यालयहरुले स्थानीय सरकारसंग समन्वय र सहकार्य आवश्यक रहेकाे छ, चाहिने कर्मचारी व्यवस्थापन गर्न ध्यान दिनु पर्याे, मानवीय स्राेत र साधनको व्यवस्थापनका लागि प्रदेश र संघकाे ध्यानाकर्षण आवश्यक रहेकाे छ ।" उहाँले भन्नुभयो।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिबृद्धि गर्ने बिषयमा महिला स्वास्थ स्वयमसेविकाहरुकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउनुभयो । उहाँले मातृस्वास्थ्य, बालमृत्युदर घटाउन ६० वर्षकाे उमेरसम्म पुर्याएकाे याेगदानकाे उच्चसम्मान गर्दै आगामी दिनहरुमा पनि सक्रियताकाे कामना गर्नुभयाे।
बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन सेवा पुर्याउन र जनचेतना फैल्याउन गरेकाे याेगदान अतुलनीय छ भन्ने बताउनुभयो । उहाँले बागमती गाउँपालिकाले स्वयंसेविकाकाे हितलाई ध्यान दिएर संघ र प्रदेशले उपलब्ध गराएकाे सेवा र सुविधाकाे अलवा थप सुविधा उपलब्ध गराइरहेको समेत बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भूवन पाैडेलले महिला स्वयम् सेविकाहरुले बालमृत्युदर, मातृमृत्युदर घटाउन पुर्याएकाे याेदगानका कारण नेपालले स्रहस्राब्दी विकास लक्ष्य हासिल काे पुरस्कार प्राप्त गरेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ६ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गर्नुभएका ३४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई दाेसल्ला, प्रमाणपत्र सहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएकाे हाे।
सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पूरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/०४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रमको रूपमा परिणत गरिएकाे थियाे ।