add

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ - सञ्चारमन्त्री शर्मा

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत राष्ट्रिय

ललितपुर/२७ असार, सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रुपमा आज पुल्चोकमा आयाेजित 'सेन्टर अफ एक्सिलेन्स फर आइसिटि रिसर्च एण्ड डेभलपमेन्ट' काे उद्घाटन पश्चात मन्तव्य राख्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिको वर्तमान युगमा यसकाे विकास नेपाली जनताले बुझ्ने र प्रयाेग गर्ने भाषामा हुनुपर्छ भन्ने धारणा राख्नुभएको हाे । 
"नेपाल सरकारले आइसिटीकाे महत्त्वलाई बुझेर  विकासका लागि धेरै काम गरेको छ, अभियानकाे रुपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचनाप्रविधिलाई समेटिएको छ, १६ ओै पञ्चवर्षीय याेजनामा समेत आइसिटीलाई समेटिएको छ, वजेटमा कृषि दशक र आइसिटि दशक घाेषणा भएको छ, आईटीहब निर्माण गर्ने कुराहरु समेटिएको छ। उच्च क्षमताकाे इन्टरनेट उपलब्ध गराएर यूवाहरुलाई अनुसन्धानमा सहयाेग गर्नुपर्छ।" उहाँले भन्नुभयो ।
मन्त्री शर्माले चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रमहरु राखिएको भए पनि सञ्चालन हुन नसकेको भन्दै उक्त कार्यक्रमहरु आगामि आर्थिक बर्षमा सञ्चालन हुनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा ब्रान्डिङ भएको संस्था हाे भन्नुहुँदै दूरसञ्चार प्राधिकरणसंगकाे सहकार्यमा सञ्चालित याे कार्यक्रम सफल पार्न संस्थानकाे भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने धारणा राख्नुभयाे ।
"विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जाेड्ने भन्ने चुनाैती छ, आईसिटीकाे विकासले विदेशिनु पर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं, देशकाे सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमकाे रुपमा संस्थान सफल हुनेछ।" उहाँले भन्नुभयो ।
मन्त्री शर्माले साइवर सूरक्षाका लागि पुराना कानूनलाई संशोधन गर्ने र नभएकोमा नयाँ कानून निर्माण गर्ने कार्यकाे सुरुवात भैसकेको पनि जानकारी गराउनुभयाे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले आइसिटी क्षेत्रकाे विकासकाे लागि सरकार, विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानसंगसंगै जानुपर्छ भन्ने धारणा राख्नुभयाे । 
"सामाजिक जीवन र गुणस्तरीय जीवनका लागि उपयाेगी हुने गरि आइसिटी क्षेत्रकाे अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा याे कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ।" प्राध्यापक डाक्टर बरालले भन्नुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर शशीधरराम जाेशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुकाे आकर्षक बढाउनका लागि इन्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानाडाकाे आइटी कम्पनीसहित अन्य देशका आईटी कम्पनीसंग सम्झौता गरेर काम गरेकाे बताउनुभयो । उहाँले संस्थानले आइसिटी क्षेत्रमा नेपालकाे लागि मात्रै हैन अन्तर्राष्ट्रिय जगतमा विक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुहुँदै साइवर सेक्युरिटी लागि काेरियन विश्वविद्यालयहरुसंग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।
क्याम्पस प्रमुख प्राध्यापक डाक्टर इन्द्रप्रसाद आचार्यले  निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयाेग प्राप्त भएको बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त हुने उपलब्धिले देशलाई महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालनका लागि समेत महत्त्वपूर्ण सहयाेग हुने गरी अनुसन्धान तथा विकासका कार्य हुने विश्वास व्यक्त गर्नुभयाे। उहाँले याे कार्यक्रमले विदेशी प्रविधि ल्याउने र प्रयाेगमात्रै गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छ भन्नुभयाे ।
कार्यक्रममा धारणा राख्ने विज्ञ बक्ताहरुले यस कार्यक्रमले लामो समयकाे अध्ययन अनुसन्धानका साथै देशलाई आवश्यक परेको प्रविधि अनुसारकाे तालिम सञ्चालन गर्ने लक्ष्य राखेको बताउनुभएको थियाे । उहाँहरूले ज्ञानसीप हस्तान्तरणले सूचना प्रविधिको क्षेत्रमा आएकाे परिवर्तनलाई आत्मसात गर्दै बाैद्धिक जनशक्ति पलायनलाई राेक्न सहयाेगी सिद्ध हुने धारणा राख्नुभएको थियाे ।