आन्दोलनमा उत्रिने निर्माण व्यवसायीको चेतावनी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/२७ असार, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म सम्पन्न भएको कामको भूक्तानी नपाए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अरवौं रकम भूक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरी हालसम्मको बाँकी रकम असार मसान्तभित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो। सरकारले विगत दुई वर्षदेखि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी रोकेको जनाएको छ।
महासंघले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका आयोजना निर्माण कार्य सम्पन्न गरेबापतको ६० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो।
“बैङ्कको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा भन्नुभयो
आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौँ व्यवसायी प्रभावित भएको उहाँले बताउनुभयो। यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उहाँले बताउनुभयो।
विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै सिंहले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको बताउनुभयो।
काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले एक बिज्ञप्ती प्रकाशन गर्दै नेपालको विकास निर्माणको पूर्ण जिम्मेवारी लिई सक्रिय रहेका निर्माण व्यवसायीहरु घर न घाटको स्थितिमा पुगेको वताएको छ।
नेपाल सरकारले आर्थिक बर्ष ०८०(८१ सम्म निर्माण कार्य सम्पन्न गरेका योजनाहरुको विल भरपाई अनुसार भुक्तानी दिने आसमा रहेका निर्माण व्यवसायीहरु भुक्तानी नपाएर मानसिक रुपमा विक्षिप्त भई आत्माहत्या गर्ने अवस्थामा पुगेका र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी समयमा नपाएका कारण सामान्य कारोबार मिलाउन नसकेर जेल सजाय भोगीरहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
केही दिन आगाडि मात्र नेपाल सरकारबाट निर्माण कार्य सम्पन्न गरेका आयोजनाहरुको बिल अनुसारको भुक्तानी दिने आश्वासन पाएका निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा निर्माण सामग्री, मजदुरको पारिश्रमिक, बैकिङ कारोबार लगायत अन्य कार्य मिलाउँन नसक्दा नै डडेलधुराका निर्माण व्यवसायी डम्बर देव ९सन्तोष० भट्टले आत्महत्या गरेको बताएको छ।
अझै पनि केही दिन भित्र भुक्तानी दिन सरकारले आलटाला गरेमा कयौ निर्माण व्यवसायीहरुले गम्भीर बाटो रोज्न बाध्य हुने अवस्था आउने र निर्माण कार्य लथालिङ अवस्थामा छोडेर सम्र्पकविहिन अवस्थामा पुग्न सक्ने संघका महासचिव पञ्च बहादुर तामाङ (विजय)ले जनाउनुभयो।
नेपाल सरकारले तत्कालै अधुरा रहेका निर्माण आयोजनाहरुको अध्ययन र निर्माण व्यवसायीले पाउनुपर्ने भूक्तानीका सम्बन्धमा राजनीतिक दल र विज्ञ निर्माण व्यवसायी सहितको उच्चस्तरिय समिति गठन गर्नु पर्ने संघ माग छ। संघले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई संयमता र धैर्यतामा रहन आग्रह गरेको छ।