पूर्वस्वास्थ्य मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ४, शुक्रबार वर्गीकृत स्थानीय-समाज
काठमाडौं/ ४ साउन, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएकाे छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिलो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएकाे हाे।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।
बाढीले पुर्याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, फिलिपिङ, कोदारी, तातोपानी, चकु बजार, डोपर, खागदल र खाडीचौर तथा क्षेत्र नम्बर २ को टिपेनी बजार लगायत आसपासका क्षेत्र, नेशनल हाईड्रोपावर, याङरी बजार लगायतका क्षेत्रहरू निरीक्षण गरिएको हो ।
निरन्तर वर्षा पछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पुर्याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षण तथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न ध्यानाकर्षण गराउनुभएकाे छ ।
नेता बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उनले प्रभावित क्षेत्रमा निगरानी बढाउनुभएकाे हाे ।
निरीक्षणपछि बाढी प्रभावितहरूमा राहतको आशा पलाएको छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता बस्नेतले नागरिकको हरेक सुखदुखको सारथीको परिचय बनाउनु भएको छ।
यसअघि पनि उनले विपदको समयमा जिल्ला पुगेर स्थानीय जनताहरुका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकाे छ । मेलम्चीको बाढी होस् वा भूकम्प वा कोरोनाकालको कठिन समय नै किन नहोस् बस्नेत हरेक समय आफ्नो जिल्लाका जनताहरुसँगै रहने गर्नुभएकाे छ।


