add

विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ - पूर्वस्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ५, शनिबार वर्गीकृत स्थानीय-समाज

सिन्धुपाल्चोक/ ५ साउन, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ भन्ने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाकाे सिन्धु भ्याली स्थित वडा नं ३ हैबुङ्ग स्वास्थ्य चौकीकाे भवन समुद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री बस्नेतले चुनावकाे बेलामा मात्रै आआफ्नो घाेषणापत्र बाेक्ने हाे भन्नुहुँदै विकास गर्ने बेलामा समान धारणा बनाएर एकजुट भइ लाग्नुपर्ने बताउनुभएको हाे ।
"काेराेनाकाे समयमा सरकारले 'अक्सिजन' बाँड्न नसक्दा मेराे नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले 'अक्सिजन सिलिन्डर' बाँडेको हाे, पदमा हुँला वा नहुँला, विकासका काम गर्न पछि पर्नेछैन।" उहाँले भन्नुभयो ।
नेता हुनेले के ठिक के बेठीक भन्ने छुट्याउन सक्नुपर्छ भन्नुहुँदै पूर्वमन्त्री बस्नेतले बनावटी कुरामा भन्दा काममा विश्वास गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य चौकीकाे भवन उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चाैकी भवन निर्माण तथा स्वास्थ्य सामग्रीहरु व्यवस्थापनका लागि क्रियाशील हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
संघ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार विकासका लागि बजेट व्यवस्थापन हुने बताउनुहुँदै उहाँले सिन्धु 'भ्याली' भविष्यकाे लागि राम्रो आम्दानीकाे स्राेत हुने पर्यटकीय क्षेत्र हुनसक्ने बताउनुभयो ।
सिन्धुपाल्चोकबासीकाे मतबाट जितेर देशकाे स्वास्थ्यमन्त्री हुने अवसर पाएकाे बताउँनुहुँदै पूर्वमन्त्री बस्नेतले आफू मन्त्री भएको बेलामा देशभरका संघीय अस्पतालमा गरिब तथा विपन्नहरुकाे निशुल्क उपचारका लागि दश प्रतिशत 'वेड'हरुकाे व्यवस्थापन गराएकाे बताउनुभयो । वडाले गरेको सिफारिसका आधार संघीय अस्पतालहरुले गरिब तथा बिपन्नलाई निशुल्क उपचार गरिदिने बताउनुहुँदै उहाँले आफ्नो दश महिने कार्यकालमा संघीय अस्पतालमा ३ हजार पाँच सय 'जनरल वेड'हरु निशुल्क बनाएकाे बताउनुभयो ।
पूर्वमन्त्री बस्नेतले उपचारका लागि पैसा नभएर अस्पतालकाे झ्यालबाट हाम फाल्नुपर्ने, विद्यालयकाे शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, परीक्षामा असफल भएर आत्महत्या गर्ने अवस्थाकाे अन्त्य गर्नाका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य कृष्ण कुमार तामाङ (समीर)ले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन १ करोड ५० लाख बजेट प्रदेश बाट विनियोजन गरिएको बताउनुभयो । उहाँले विकासका काममा राजनीतिक रुपमा विभाजन नहुन समेत आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो कार्यकालमा सो अस्पताललाई नगर अस्पताल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
इफ्फाता जेभीले निर्माणको जिम्मा पाएको अस्पताल भवन १९ महिनामा निर्माण कार्य सम्पन्न गरिएको निर्माण व्यवसायी कुमार गुभाजुले जानकारी दिनुभयो । ८ करोड ५६ लाखमा थकनी र हैबुङमा गरी २ वटा भवन निर्माण सम्पन्न भएको गुभाजुले बताउनुभयो ।
नवनिर्मित स्वास्थ्य चाैकीमा हाल ५ बेडकाे व्यवस्था गरिएको छ, स्वास्थ्य चाैकी भवन निर्माण कार्यमा सहयाेग गर्नेहरूलाई खादा सहित सम्मानपत्रबाट सम्मान गरिएको थियाे।
अस्पताल भवन निर्माणका लागि मेलम्ची नगरपालिका वडा नं ३ पूर्ववडा अध्यक्ष नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ्गले ४ रोपनी जग्गा हस्तानतरण गर्नुभएकाे थियाे ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत,मेलम्ची नगरपालिका पूर्वनगरप्रमुख डम्बर अर्याल, पूर्वउपप्रमुख भगवती नेपाल, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सराेकारवाला, कर्मचारीहरु, समाजसेवीहरुकाे सहभागी रहेको  थियोे।
स्वास्थ्य चाैकी उद्घाटनका अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा वीर अस्पताल, कान्ति अस्पताल, थापाथली अस्पतालबाट विभिन्न राेग विशेषज्ञ एवम्  डाक्टरहरु, नर्सहरु, स्वयंसेविकाहरुले विरामी स्वास्थ्य परिक्षण गर्नुभएको थियाे । शिविरमा २५० जना स्थानीयहरुले सेवा लिनुभएकाे थियाे ।