add

गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ८, मंगलबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ ८ साउन, गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न भएको छ । भजन मण्डलकाे व्यवस्थापनमा क्रियाशील रहनुभएका चिरीनानी श्रेष्ठका अनुसार गुरु पूर्णिमामा भजनमा सहभागी हुने बज्रबाराही भजन मण्डलका जेष्ठ नागरिकलाई खानाकाे व्यवस्था समेत गरिएको थियो।
यही साउन ६ गतेका दिन परेकाे गुरु पूर्णिमा तथा व्यास जयन्तीका दिन बज्रबाराही भजन मण्डलमा भजनमा सहभागी हुने जेष्ठ नागरिकहरुका लागि गाेदावरी नगरपालिका वडा नं. १२ ठेचाे निवासी स्वर्गीय रामगाेविन्द महर्जनका नाती रामनाथ महर्जनका छाेरा राजेश महर्जन र ललिता महर्जनकाे परिवारले खानाकाे लागि प्रबन्ध मिलाउनु भएको श्रेष्ठले जानकारी गराउनुभयाे ।
पूर्णिमाका दिन भएको भजनमा गाेदावरी नगरपालिका १२ ठेचाेकाे ढल्केश्वर महादेव भजन मण्डल, वडा नं. ५ लेलेकाे तिलेश्वर भजन मण्डल र वडा नं. ११ काे चन्द्रभैरव भजन मण्डल समूह समेतले सहभागिता जनाएको हिरामायाँ देसारले जानकारी गराउनुभयाे ।
जेष्ठ नागरिकहरुलाई भजनमा सहभागी गराउँदै संस्कृति, सभ्यताकाे जगेर्ना गर्न हरेक पूर्णिमाका पर्वका दिन भजन गरिने गरेको उहाँले जानकारी गराउनुभयाे।  जेष्ठ नागरिकहरूको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यको लागि सामुहिक रुपमा भजन गर्ने कार्य धेरै लाभदायक हुन सक्छ। भजनमा सहभागी हुँदा ध्यान र मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ। यसले तनाव कम गर्छ र सकारात्मक मानसिकता विकास गर्न मद्दत पुर्‍याउँछ। यस कार्यबाट उहाँहरुकाे अन्य व्यक्तिहरूसँग भेटघाट हुन्छ, जसले सामाजिक सम्पर्क बढाउँछ। यसले एकान्त र एक्लोपनको समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ।
त्यस्तै, धार्मिक आस्था र आध्यात्मिकता व्यक्त गर्न भजन सहयोगी हुन्छ। यसले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्छ। भजन गाउन र सुन्नाले स्मरण शक्ति र मानसिक सतर्कता बढाउँछ। भजन गाउँदा सास फेर्ने प्रक्रिया राम्रो हुन्छ र सासको तालमेल समेत राम्रो हुन्छ। भजनमा समावेश हुने संगीतले भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, जसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ।

यसरी, भजनमा सहभागी हुँदा जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसलाई दैनिक जीवनको हिस्सा बनाउन प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।

प्रत्येक पूर्णिमाका दिन हुने भजनमा सहभागीहरुलाई खानाकाे प्रबन्धका लागि अक्षयकोष स्थापना गर्न गाेदावरी- ११ बुलुका मदन महर्जनले एघार हजार एक सय ५० रुपैयाँ सहयोग गर्नुभएको श्रेष्ठले जानकारी गराउनुभयाे । यसअघि पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध गर्नको लागि अक्षयकोष स्थापना गर्न तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग उपलब्ध गराउनु भएको थियाे। हरेक पूर्णिमामा हुने भजनलाई व्यस्थित बनाउन अक्षयकोष स्थापना गर्न लागिएको चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य तथा पर्वस्तरीय भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।