बागमती प्रदेशमा एक महिलासहित १४ सदस्यीय मन्त्रीपरिषद
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १०, बिहिबार वर्गीकृत राष्ट्रिय
हेटौंडा/१० साउन, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीपरिषदमा १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामालाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। मंगलबार नियुक्त हुनुभएका लामाले बुधबार सपथ ग्र्रहण गर्नुभएको थियो । बुधबार मुख्यमन्त्रीको सपथ लिनुभएका मुख्यमन्त्री लामाले एक महिला सहित १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गर्नुभएको हो । बुधबार एमालेका ६ र काँग्रेसका तीन मन्त्रीसहित सपथ ग्रहण गर्नुभएका लामाले विहिबार काँग्रेसका चार जना मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्रीमा नियुक्त गरेपनि कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले आज साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री लामाले जानकारी गराउनु भयो ।
मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो। उहाँले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गर्नु भएको हो । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री हुनुभएको छ । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बुधबार मन्त्री नियुक्त हुनुभएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाउनुभएको छैन। कांग्रेसबाट नवनियुक्त सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय माग्नुभएको छ। काफ्लेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय माग्नुभएको थियो ।
कांग्रेसले पहिला लगाइसकेको भागबन्डामा परिवर्तन गरी भौतिक एमालेलाई दिएर आर्थिक मामिला मन्त्रालय लिएको थियो । आफूलाई सामाजिक विकास मन्त्रालय नियुक्त गरेको खबरपछि काफ्ले प्रदेश प्रमुख कार्यालयमै आएर मुख्यमन्त्री लामासँग असन्तुष्टि पोख्नुभएको थियो । उहाँ आधा घण्टा बढी समय लामासँग वार्ता गरेर भर्खरै प्रदेश प्रमुख कार्यालयबाट निस्किनुभएको हो। वार्ता सकारात्मक नभएको बुझिएको छ ।
यसैगरी मुख्यमन्त्री लामाले सल्लाह नगरी मन्त्री थपेको भन्दै एमालेले असहमति राखेको छ । शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिनुभएको थियो । एमालेले मन्त्रालय फुटाएर मन्त्रालय संख्या बढाउन नदिनेबारे लामालाई थपलियाले स्पष्ट पारेको छलफलमा सहभागी स्रोतले भन्यो ।
मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेको पत्र लिएर शपथ अघि मात्रै प्रदेश प्रमुख कार्यालयमा आउनुभएको थियो । १४ सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री हुनुहुन्छ ।


