add

नेवाः सूचना केन्द्रको साधारणसभा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १२, शनिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/१२ साउन: नेवाः सूचना केन्द्रको आठौं वार्षिक साधारणसभा आज ललितपुरमा सम्पन्न भएकाे छ । नेपाल भाषाबाट हुने साहित्यिक, भाषिक तथा सांस्कृतिक गतिविधिहरुको अद्यावधिक जानकारी दिने र ती गतिविधिहरुलाई सक्दो सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्ने जिम्मेवारी वहन गर्दै आएको यस सूचना केन्द्रले आफ्नो स्थापनाको सात वर्ष पूरा गरेको हाे
साधारणसभामा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन मनिकरत्न शाक्यले सूचना केन्द्रले गर्दै आएका काम प्रशंसनीय भएको बताउँदै प्रत्यक्ष प्रसारण भएका श्रव्यदृश्य सामग्रीहरुलाई एकै ठाउँमा संगृहीत गर्न र ती सामग्रीहरुको उपयोग गर्न चाहने संघसंस्थाहरुलाई शुल्क लिएर उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल भाषाका वरिष्ठ कथाकार तथा शिक्षाविद् हितकरवीर सिंह कंसकारले ‘नेवारी’ शब्दको प्रयोगले नेपाल भाषाको ऐतिहासिकता र मौलिकता प्रतिविम्बित नहुने भएकाले यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना केन्द्रका अध्यक्ष रमिता बज्राचार्यले नेवाः सूचना केन्द्रप्रति संघ संस्थाहरुबाट दर्शाइएको सदाशयता आउँदा दिनहरुमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो । 
नेवा: समुदायका थुप्रै भाषिक तथा साहित्यिक संस्थाहरुको सहभागिता रहेको यस कार्यक्रममा सूचना केन्द्रप्रति विश्वासका साथसाथै सहकार्य गरेका संस्थाहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।