देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ - प्रधानमन्त्री ओली
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १४, सोमबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ १३ साउन : प्रधानमन्त्री के पी शर्मा ओलीले सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ भन्ने धारणा राख्नुभयाे । विश्व बाघ दिवसकाे अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज साेमबार ललितपुरमा आयाेजना गरेकाे कार्यक्रममा बालबालिकाहरुसंग बाघ संवाद गर्नुहुँदै प्रधानमन्त्री ओलीले बन्यजन्तुकाे सिकार र चाेरीपैठारीकाे लागि प्रतिवन्ध लगाएइकाे स्मरण गराउँदै सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संरक्षण गर्ने नीति रहेकाे बताउनुभयो।
"देशकाे क्षमताभन्दा बढि बाघकाे संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघकाे संख्यामात्रै बृद्धि गर्दा मानवीय बिनास निम्त्याउन सक्छ। यस्तो अवस्था आउन दिनु हुँदैन" उहाँले भन्नुभयो, "प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका छन्, उनीहरुका लागि सहज बासस्थान चाहिन्छ, उनीसंग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन, मानिसले सचेत भएर जंगली जनावरसंगकाे द्वन्द्वकाे परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलाे सुरक्षा मानिसलाई दिनुपर्छ।"
कार्यक्रममा लिटिल एञ्जल सहित विभिन्न पाँच विद्यालयका बालबालिकाहरुले राखेकाे प्रश्नको जवाफ दिनुहुँदै मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो । उहाँले बाघ र बन्यजन्तुकाे संरक्षणका लागि हालकाे सदर चिडियाखाना सानाे भएको बताउनुहुँदै अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयो। उहाँले बन्यजन्तुकाे संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राख्नुभयाे ।
वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरकाे सुर्यविनायकस्थित प्राणी उद्यानकाे निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानाे भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरि वर्गीकरणका आधारमा वन्यजन्तुहरुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराउनुभयाे ।
तपाईंलाई प्रकृतिसंग प्रेम गर्न के कुराले प्रेरित गर्याे भन्ने विद्यार्थीकाे प्रश्नमा प्रधानमन्त्री ओलीकाे जवाफ थियाे,"प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानाे हुँदा गाेठालाे लाग्ने गरेकाले गाईभैसी चराउन जंगलमा जाँदा प्रकृतिसंग रमाउन थालें, त्यसैवेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खाेला, नाला, जीवजन्तु, चराचुरुङ्गी सवैसंग प्रेम हुन थाल्यो।"
बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ बन्यजन्तु नेपालमा पाइने बताउनुहुँदै संरक्षणका साझेदारीमा रहेका तीनै तहका सरकार संघसंस्था र सराेकारवालाहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले बाघकाे संरक्षणका लागि ठूलाे घाँसेमैदानका साथै वन, पानी सहितकाे बासस्थानकाे व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराउनुभयाे ।
"बाघलाई बनभित्र रहने र मानिसलाई निकुञ्जभित्र पस्न नदिने व्यवस्था गरिनुपर्छ, विकास र वातावरण विचकाे सन्तुलन मिलाउनुपर्ने छ, निकुञ्ज व्यवस्थापन र संरक्षणबाट राष्ट्रिय पर्यटनकाे आम्दानी वृद्धि गरिनुपर्छ ।" मन्त्री ठकुरीले भन्नुभयाे।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित संरक्षणका साझेदारहरु मिलेर बाघकाे संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाकाे अहिलेकाे स्थान नपुग भएको जानकारी गराउँदै यसका लागि पहल गर्न प्रधानमन्त्री समक्ष अनुराेध गर्नुभयाे । उहाँले काेराेनाकालमा बन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएकाे जानकारी गराउनुहुँदै बन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्त्वपूर्ण सम्बन्ध छ भन्नुभयो । उहाँले चिडियाखानामा सबै भन्दा बढि खर्च लाग्ने एउटा जनावरकाे खानाकाे लागि वार्षिक रुपमा रकम उपलब्ध गराइरहेको जानकारी गराउनुभयाे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुंगानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र साेही अनुसार ऐन,नियम तथा कानून बनेकाे जानकारी गराउनुभयाे । जैविक विविधताका दृष्टिले नेपालकाे तराई भूपरिधि क्षेत्र उपयाेगी रहेकाे भन्दै संयुक्त राष्ट्रसंघले सन् २०२३ मा नेपाललाई सम्मान गरेकाे जानकारी गराउनुहुँदै उहाँले यसबाट नेपालकाे पर्यपर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत सहयाेग पुगेको धारणा राख्नुभयाे ।
वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघकाे संख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो । बाघकाे वासस्थानकाे संरक्षण र आहारकाे व्यवस्थापन महत्त्वपूर्ण छ भन्नुहुँदै उहाँले मानव बन्यजन्तुबीचकाे द्वन्दलाई कसरी गर्ने भन्ने चुनाैती बढ्दाे अवस्थामा रहेकाे धारणा राख्नुभयाे ।
प्रकृति संरक्षण काेषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागकाे तुलनामा बाघ, बन्यजन्तु तथा चराचुरुङ्गीकाे संरक्षणमा अग्रणी स्थानमा रहेकाे बताउनुभयो।
कार्यक्रममा सदर चिडियाखानासंग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाहरुले बाघ संरक्षणका सन्दर्भमा लघु नाटक समेत प्रदर्शन गरेका थिए ।
मानव बाघ सहअस्तित्व र समृद्धि भन्ने नाराका साथ यस वर्षकाे विश्व बाघ दिवस मनाइएको छ । सन् १९७०काे दशकबाट मात्रै नेपालमा बाघ संरक्षणकाे प्रयास भएको पाइन्छ। बाघकाे संख्या सबैभन्दा धेरै हुने विश्वका १३ राष्ट्रहरुमा नेपाल पनि पर्दछ। रसियाकाे सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने १३ राष्ट्रहरुबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०२२ सम्म बाघकाे संख्या दाेव्वर पार्ने प्रतिवद्धता गरेकाे थियाे । त्यसवेला नेपालमा बाघकाे संख्या १२१ थियाे । त्यसपछि सन् २०१४ मा १ सय ९८, सन् २०१८ मा २ सय ३५ पुगेको थियाे । सन् २०२२ मा नेपालका चितवन, बाँके, वर्दिया, शुक्लाफाँटा र पर्सासहित पाँच वटा निकुञ्जमा रहेका बाघकाे संख्या ३ सय ५५ पुगेको थियाे। हरेक चार वर्षमा बाघकाे संख्या गणना गर्ने व्यवस्था अनुसार अब सन् २०२६ मा नेपालमा बाघको संख्या गणना हुनेछ ।