भलिबल खेललाई प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री चौधरी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १७, बिहिबार वर्गीकृत खेलकुद
काठमाडौं,१७ साउन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्ने बताउनु भएको छ ।
बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगलाई सम्बोधन गर्नुहुँदै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताउनुभएकाे हाे ।
खेलकुद मन्त्रीले भन्नुभयाे, 'अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ।' उहाँले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताउनुभयाे ।
यस्तै, उहाँले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताउनुभयाे। ' मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन। तर यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ। म यसका लागि पहल गरिरहेको छु।' उहाँले भन्नुभयाे।
भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गर्नुभयाे। 'भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको छु।' उहाँले भन्नुभयो ।