लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या हैन, पुरुषहरुकाे पनि हाे - मन्त्री सुड्डी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २३, बुधबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ २३ साउन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर शाह सुड्डीले लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या नभई पुरुषहरुकाे पनि भएको बताउनुभएको छ । साथीले संस्थाले आज ललितपुरमा आयाेजना गरेको लैङ्गिक समानताका लागि पुरुष र युवाहरूको सहभागिता बिषयक दक्षिण एसियाली क्षेत्रीय सम्वाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री सुड्डीले नेपाल सरकारले भेदभावकाे अन्त्य गरि समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ भन्नुहुँदै साेही नीति अनुसार मन्त्रालयले रुढीगत लैङ्गिक असमानता हटाउनका लागि काम गरिरहेको बताउनुभएको हाे ।
"लैङ्गिक समानताकाे बिषय र महिलाहरुमाथि हुने विभेदको अन्त्य गर्ने बिषय नेपाल सरकारकाे उच्च प्राथमिकतामा रहेकाे छ, महिला पुरुष वेग्लावेग्लै जीव हैन, हामीले मिलेर काम गर्नुपर्छ, निरासाजनक कुरामात्रै गरेर हुँदैन, विगतका दश वर्षमा धेरै परिवर्तन आएकाे छ, महिला सहभागिता बढेकाे छ । अझ मधेश प्रदेशमा महिलाहरुका लागि पचास प्रतिशत आरक्षणकाे व्यवस्था छ " मन्त्री सुड्डीले भन्नुभयो ।
सरकारले कानून बनाएर मात्रै समानता आउन सक्दैन भन्नुहुँदै उहाँले सानाेसानाे कुरामा पनि परिवर्तन गरेर हामीले धेरै ठूला परिवर्तन गर्न सक्छौं भन्ने धारणा व्यक्त गर्नुभयाे।
"नेपाल सरकारले आर्थिकसामाजिक, राजनीतिक तथा कानूनी रुपमा सुनिश्चित गरि लैङ्गिक समानता ऐन २०७७ कार्यान्वयनमा ल्याइसकेकाे छ, व्यवहार र कानूनमा धेरै अन्तर छ, कानून बनेकाे छ, अब व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ, हामी प्रगतिशील अवस्थामा छाैं, निराशा हुनुपर्ने अवस्था छैन, असन्तुलित अवस्थालाई निराकरण गर्दै लाग्नुपर्छ।" उहाँले भन्नुभयो ।
परिणाममा समानता कायम गर्न घरपरिवारमा परिवर्तन ल्याउनु आवश्यक छ भन्नुहुँदै उहाँले लैङ्गिक समानताकाे पक्षमा र महिला समावेशिताकाे सन्दर्भमा भारत, बंगलादेश, श्रीलंका, भूटान, अफगानिस्तानलगायतका देशकाे तुलनामा नेपालकाे कानुन अग्रगामी छ भन्नुभयो । उहाँले बनेका कानूनलाई व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्न घरसमाजमा परिवर्तन ल्याउनु आवश्यक भन्नेमा जाड दिनुभयाे ।
संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद उन्मूलन समितिका सदस्य बन्दना राणाले पुरुषकाे मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुन सक्दैन भन्ने धारणा राख्नुभयाे । "मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानूनले बाँध्न सक्दैन, यसका लागि व्यवहारमा परिवर्तन र रुपान्तरण हुनुपर्छ, लैङ्गिक समानताका लागि महिला र पुरुष मिलेर समाधान गर्नुपर्छ, सुरक्षा विनाकाे कानूनले कुनै परिवर्तन ल्याउन सक्दैन, पुरुषकाे मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुन सक्दैन, मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानूनले बाँध्न सक्दैन।" राणाले भन्नुभयो । उहाँले यसकिसिमकाे संवादले हाम्रो जिम्मेवारी र भूमिकालाई रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने धारणा राख्नुभयाे ।
‘युएन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फर्नान्डेजले लैङ्गिक समानताकाे बिषय दक्षिण एसियाका धेरै देशमा चुनाैतीपूर्ण रहेकाेबताउनुहुँदै याे चुनाैतीलाई समाधान गर्न याे संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे ।
समूहगत छलफलमा भाग लिनुहुँदै नेपाल सरकारका पूर्वसचिब कृष्णहरि बास्काेटा नेपालमा आर्थिक वर्ष २०६४/६५ देखि लैङ्गिक उत्तरदायी र समावेशी बजेट ल्याउन सुरु भएको बताउनुहुँदै कानूनी रुपमा सरकारी तहबाट भएका व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले लैङ्गिक समानताका लागि पुरुषकाे मनस्थितिमा परिवर्तन आउनुपर्छ भन्नेमा जाेड दिनुभयाे ।
'मीन इन्जेग ग्लाेबल एलायन्स'का सहनिर्देशक लक्ष्मण वेल्वासेले पुरुषत्वकाे भावनाबाट माथि उठेर हिंसात्मक अवस्थालाई अन्त्य गर्न व्यवहार परिवर्तन, सामाजिक मुल्यमान्यतालाई समावेशी बनाउन लाग्नुपर्छ भन्नुभयो । उहाँले लैङ्गिक समानताका लागि महिलाहरुकाे सहभागिता मात्रै हैन शसक्तिकरणकाे आवश्यकता रहेकाे छ भन्नुहुँदै उहाँले नीतिगत तहमा सुनिश्चितता गरेका मात्रै हुँदैन, निर्णायक तहमा रहेका पुरुषहरुमा जिम्मेवारीबाेध गराउँदै साेचमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयाे ।
'मीन इन्जेग एलायन्स' श्रीलंकाका 'स्टेरिङ कमिटी' सदस्य प्राध्यापक विजय जयन्तिलिका लैङ्गिक समानताको बिषय ज्यादै चुनाैतीपूर्ण रहेकाे बताउनुहुँदै सामाजिक प्रणाली र ओैपचारिक शिक्षा प्रणालीमा नै सहभागितामूलक वनाउनेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महिलाकाे सहभागिता र नेतृत्वलाई सम्मान गर्ने संस्कारकाे विकास गराउनु आवश्यक छ भन्नुहुँदै यसका लागि शैक्षिक गतिविधिभित्र समावेश गरेर सिकाईमा समावेश गरिनुपर्छ भन्नेमा जाेड दिनुभयो ।
'व्लु डाइमण्ड साेसाइटी'का कार्यक्रम निर्देशक भूमिका श्रेष्ठले पितृसत्तात्मक साेचले समाजकाे संरचनालाई विभाजन गरिएको छ भन्नुभयाे । उहाँले महिला र पुरुषभन्दा पृथक पहिचान भएकाहरु पनि हुन्छन् भनेर सिकाइको हुँदैन भन्नुहुँदै समाजले विविधताकाे कुरालाई स्वीकार्न सकेकाे छैन भन्ने धारणा राख्नुभयाे ।
संविधानकाे धारा १८ ले समानताकाे हकलाई स्वीकार गरेकाे छ भन्नुहुँदै उहाँले लैङ्गिक समानताको लागि पुरुष र युवाहरूको सहभागिताका लागि जिम्मेवारीपूर्ण जवाफदेही बनाउन साेचमा परिवर्तन आवश्यक छ भन्नुभयो ।
साथी संस्थाकी कार्यकारी निर्देशक शुभेच्छा राणाले सकरात्मक सामाजिक रुपान्तरणका लागि पुरुष र युवाकाे भूमिका आवश्यक रहेकाे बताउनुहुँदै याे संवाद कार्यक्रममा व्यक्त हुने विचार भविष्यकाे लागि उपयाेगी हुने बताउनुभयो ।
साथी संस्थाका अध्यक्ष सजनी अमात्यले समतामूलक समाज निर्माणमा पुरुष र युवाहरुकाे भूमिका आगामी दिजहरुमा प्रभावकारी बनाउन याे संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले संवादबाट प्रेरणादायी सुझावहरु प्राप्त भएको बताउनुभयो ।