जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत स्थानीय-समाज
ललितपुर/ ०१ भदौ, जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने हुने भएको छ । पूर्णिमाका दिन हुने भजनकाे व्यवस्थापन गर्दै आउनुभएको चिरीनानी श्रेष्ठले दिनुभएको जानकारी अनुसार स्वर्गीय ज्ञानलाल महर्जनको नाती शान्तकुमार महर्जनको छाेरा गाेदावरी नगरपालिका वडा नं. १२ निवासी सन्ताेष महर्जन र सम्राट महर्जनले आफ्नाे स्वर्गीय माता रामकेशरी महर्जनको सम्झनामा यही आउँदो जनै पूर्मिमा भजनमा सहभागी हुने भक्तजनहरुलाई खाना र खाजाकाे व्यवस्था गर्नुहुने भएको छ।
गाेदावरी नगरपालिका वडा नं. ५ निवासी हरिबहादुर सिल्वालकाे नाति जगन्नाथ सिल्वाल र रेणु सिल्वालकाे छाेरा राेहित सिलवालले हरेक पूर्णिमाका दिन हुने भजनका लागि पाँच हजार रुपैयाँ सहयाेग गर्नुभएकाे छ।
बज्रवाराही मन्दिरमा हरेक पूर्णिमाका दिन भजन सञ्चालनका लागि चिरीनानी श्रेष्ठ, गुणलक्ष्मी श्रेष्ठ, हिरामाया देसार र सुनकेशरी देसारले व्यवस्थापन गर्दै आउनुभएको छ ।
पूर्णिमा भजन व्यवस्थापनका लागि सहयाेग गर्न चाहाने महानुभावहरुले चिरीनानी श्रेष्ठकाे नम्बर ९८४३५७६५३२ र गुणलक्ष्मी श्रेष्ठकाे नम्बर ९८४९१०७४६४ मा सम्पर्क गरेर स्वेच्छिक रुपमा सहयाेग गर्न सकिने व्यवस्था रहेकाे छ ।
यसअघि भजनमा सहभागीहरुलाई खानाकाे प्रबन्धका लागि अक्षयकोष स्थापना गर्न गाेदावरी- ११ बुलुका मदन महर्जनले एघार हजार एक सय ५० रुपैयाँ, तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग गर्नुभएको थियाे, त्यस्तै साउन ६ गते गुरु पूर्णिमाका दिन भजनमा सहभागीहरुलाई खाना र खाजाकाे व्यवस्था गाेदावरी नगरपालिका १२ ठेचाे न्हुछे लाइझाेल टाेल निवासी राजेश महर्जनले गर्नुभएको थियाे।
जेष्ठ नागरिकहरुलाई भजनमा सहभागी गराउँदै संस्कृति, सभ्यताकाे जगेर्ना गर्न हरेक दिन नित्य भजन गरिने गरेको उहाँले जानकारी गराउनुभयाे। जेष्ठ नागरिकहरूको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यको लागि सामुहिक रुपमा भजन गर्ने कार्य धेरै लाभदायक हुन सक्छ। भजनमा सहभागी हुँदा ध्यान र मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ। यसले तनाव कम गर्छ र सकारात्मक मानसिकता विकास गर्न मद्दत पुर्याउँछ। यस कार्यबाट उहाँहरुकाे अन्य व्यक्तिहरूसँग भेटघाट हुन्छ, जसले सामाजिक सम्पर्क बढाउँछ। यसले एकान्त र एक्लोपनको समस्या समाधान गर्न सहयोग पुर्याउँछ।
त्यस्तै, धार्मिक आस्था र आध्यात्मिकता व्यक्त गर्न भजन सहयोगी हुन्छ। यसले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्छ। भजन गाउन र सुन्नाले स्मरण शक्ति र मानसिक सतर्कता बढाउँछ। भजन गाउँदा सास फेर्ने प्रक्रिया राम्रो हुन्छ र सासको तालमेल समेत राम्रो हुन्छ। भजनमा समावेश हुने संगीतले भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, जसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ।
यसरी, भजनमा सहभागी हुँदा जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसलाई दैनिक जीवनको हिस्सा बनाउन प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।


