add

थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १३, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौंका वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् ।

महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् ।

महानगरका मेयर शाक्य स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने उल्लेख गरिन् । यसअघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।

महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।