add

महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ ।  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ । 

४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्नुभयो । ‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ । यसबाट कोविडका विरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ ।’

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पु¥याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उल्लेख गर्नुभयो । यही प्रसङ्मा उहाँले अहिले अक्सिजनका सिलिण्डर स्टक राखिएको खवरप्रति टिप्पणी गर्दै भन्नुभयो, चाहेको बेला उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिण्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिण्डर फिर्ता गरिदिनोस् ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्य छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानु पर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।’

कुनै कारणले भौतिक संरचनामा भएको क्षति पुननिर्माण गर्न सकिन्छ । तर, मानवीय क्षति कुनै पनि प्रकारले पुनस्र्थापना गर्न सकिँदैन । त्यसैले मानव जीवनको सुरक्षाका लागि महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, ‘गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन् । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा मेरो प्रयास रहन्छ ।’

महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खाताख पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ । 

केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ ।   

मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियोे । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट््याएको थियो ।