add

सडकको धुलोसहित काठमाडौँमा ३० देखि ५० प्रतिशतले घट््यो फोहोरको मात्रा

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ ।

सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पु¥याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा मात्रा धेरै घटेको छ भने आवासीय क्षेत्रमा कम घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ । 

यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ ।

यो क्रम सधँ हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ । उदाहरण दिँदै उहाँले भन्नुभयो, वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ ट्रिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ ट्रिपर मात्र संकलन भइरहेको छ । यो पनि घट्ने क्रममा छ । 

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन । मानिसहरु बसेर खाइरहेका छन् । दाहालको भनाइ छ । 

कोविड संक्रमण भएका मानिसहरु घरमा बसेका छन् । उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, प्रश्नको उत्तरमा दाहाल भन्नुहुन्छ, पहिलेभन्दा अहिले अवस्था फरक छ । कुन घरमा कोविडको संक्रमित हुनुहुन्छ । थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर विरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ । 

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ । 

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिणाम पनि घटेको छ ।

पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ । तैपनि अहिले धुलो घटेको छ । विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।