add

कोविड अस्पताल बनाउन जोड दिँदै महानगरको ६१ औँ कार्यपालिका बैठक सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २१, मंगलबार वर्गीकृत राष्ट्रिय

कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै आजको कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै कोविड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।

बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोविड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक के. सी. को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी हुनुहुन्छ 

समिति गठनपछि बैठकका अध्यक्षका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘गएको बर्षभन्दा यसपटक अवस्था फरक छ । शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टीनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैँले कोविडको अस्पताल नै बनाउनु पर्ने भएको छ । क्वारेन्टीन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ । त्यस क्रममा सहकार्यका लागि प्रस्ताव माग पनि गरेका थियाँ।

केही प्रस्तावहरु पेश भएका पनि छन् ।’ उहाँले थप्दै भन्नुभयो, ‘प्राप्त भएका र छलफल गरिएका विभिन्न ढाँचामध्ये कुन उपयुक्त हुन्छ । प्रस्ताव पेश गर्न आजको बैठकले समिति बनाएको छ । समिति बनाएर अरु पन्छिने होइन, सबै मिलेर छिट्टै नै हामी औपचारिक निर्णयमा पुग्छौँ ।’

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, विरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचार कक्ष निर्माण गर्ने विषयमा शिफारिस गर्नेछ । प्रमुख शाक्य भन्नुहुन्छ, ‘पूर्वाधार र जनशक्ति भएका स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाइयो भने छिटै सेवा व्यवस्थापन गर्न पाइन्छ ।’ प्रमुख शाक्यले बैठकमा गएको बर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोविड कोषबाट करीब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराउनुभएको थियो ।  

महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महामारी नियन्त्रणका लागि महानगरले तत्काल निर्णय गरेर सेवा व्यवस्थापनमा लाग्ने बताउनुभयो ।