धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत खेलकुद

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफमा धनगढीविरुद्ध पोखराले एकतर्फी खेल पस्किएको थियो । तर,पोखराले गोल गर्न सकेनन् । दोस्रो हाफमा भने धनगढीले पाएको मौकालाई सदुपयोग गर्यो ।

र, महत्वपूर्ण जित निकाल्यो । खेलको २२ औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको अवसर गुमाए । विशाल राईको फ्रिकिकमा पोखराका डिफेन्डरले क्लियर गर्न नसक्दा प्राप्त बलमा ओलावालेको फितलो प्रहार डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो । खेलको २६ औं मिनेटमा पोखराका मौसा अब्बाले गोलको अवसर गुमाए ।

डिबक्स भित्रबाट उनले प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा धनगढीका स्ट्राइकर ओलावाले आफिज चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । बललाई पछ्याउँने क्रममा उनको ह्यास्ट्रिङमा समस्या देखिएको थियो । खेलको ४० औं मिनेटमा पोखराले अर्को मौका गुमायो ।

मौसाको फ्रिकिकमा पोखराका रबि पासवानको प्रहार धनगढीका गोलकिपर किरणले बचाए । लगत्तै धनगढीका डिफेन्डरले क्लियर गर्न नसक्दा नवयुग श्रेष्ठले कन्ट्रोल गर्दै प्रहार गरेको बल दिनेश राजवंशीले रोके । रिबाउन्डमा नवयुगले नै प्रहार गरेको बललाई गोलरक्षक किरणले क्लियर गरेका थिए । ६७ औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे । यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ । यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ ।