मेसौके ओलोमोउले ह्याट्रिकमा काठमाडौंलाई जित

Swoniga Online – अनुप प्रधान | २०७८ बैशाख २४, शुक्रबार वर्गीकृत खेलकुद

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो  । प्रतियोगिताकै रोमान्चक खेलमा दुई गोलको अग्रता उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको हो ।खेलको छैटौं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए ।

कप्तान रन्जित धिमालको लामो क्रसमा एडिलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गरेका थिए ।खेलको १६ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र रहेका विराटनगरका पेड्रो मान्जीको एक्रोब्याटिक प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।खेलको २५ औं मिनेटमा विराटनगरका सुनिल बलको कडा प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले पन्च गर्दै बल बाहिर फालेका थिए ।

३३ औं मिनेटमा पेड्रोले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए । उनले सन्तोष तामाङको लामो पासमा बल अगाडी बढाउदै काठमाडौंका गोलकिपर विकेशलाई बिट गर्दै गोल गरे ।तर, खेलको ३५ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई २–१ को स्थितिमा ल्याए । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिलाई लाग्दै गोल भएको थियो ।

त्यसको एक मिनेट नबित्दै मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–२ को बराबरीमा ल्याए । उनले मैदानको बायाँ भागबाट क्रस गरेको एयर बल सिधै पोस्ट भित्र छिरेको थियो ।खेलको ४१ औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट पाएको फ्रिकिकमा स्टेफेनले उत्कृष्ट गोल गरे ।खेलको ६८ औं मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गर्दै काठमाडौंलाई ४–२ को अग्रता दिलाए ।

बायाँ कर्नरबाट विराटनगरका डिफेन्डर दिवाकर चौधरीलाई बिट गर्दै अगाडी बढाएको बललाई उनले गोलमा परिणत गरे । करिब ६ यार्डबाट उनले प्रहार गरेको बल दोस्रो बारको टप कर्नरमा लाग्दै पोस्ट भित्र पसेको थियो । ७९ औं मिनेटमा विराटनगरका कप्तान रन्जित धिमालले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । उनले मध्ये भागबाट अगाडी बढाउदै प्रहार गरेको बल पोस्टको दायाँ बारमा लाग्दै गोलमा परिणत भएको थियो 

तर, ८३ औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५–३ को अग्रता दिलाए । उनले मेसौकेले दिएको बललाई एक्लै अगाडी बढाउदै उत्कृष्ट गोल गरे ।त्यसपछि खेलको इन्जुरी समयमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ को स्थितिमा ल्याए । रन्जितको क्रसमा एडिलाजाले दिएको पासमा पेड्रोले गोल गरे । खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

फोटो अनुप प्रधान