add

सडक पछि खनौँला, विकास पछि गरौँला, पहिले रोगबाट जनतालाई बचाऔँ : प्रमुख शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २९, बुधबार वर्गीकृत राष्ट्रिय

‘सडक पछि बनाउँला, विकासका काम पछि नै गरौँला । अहिले सबै मिलेर कोविड संक्रमण रोकौँ । यसबाट हुने मानवीय क्षति रोकौँ । यसका लागि तपाईहरुलाई काठमाडौँ महानगरले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्नोस् । हामी सहयोग गछौँ ।’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौँ जिल्लामा भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुखहरुलाई बोलाएर महानगरबाट कस्तो सहयोग भयो भने तपाईँको अस्पतालको क्षमता बढ्छ? सोध्नुभएको छ । 

‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन् । तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन । तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन । उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो । यसका लागि तपार्ईहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ ।’

संक्रमणमा परेका विरामीलाई छुट्टै राख्ने संयन्त्रका बारेमा बोल्दै प्रमुख शाक्यले, सहरका कतिपय ठाउँमा आइसोलेसन खोलिएको तर ती केन्द्रमा विरामीहरु नगएको सुन्नमा आएको उल्लेख गर्दै चर्चा कमाउन नभइ अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताउनुभयो । अन्य थप संयन्त्र बनाएरभन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उहाँको भनाइ थियो ।   

कतिपय विरामीहरु अस्पताल जानै नपर्ने भए पनि आत्तिएर अस्पताल गएका छन् । यसले चाप बढाएको छ । यो चाप कम गराउन अस्पतालहरुसँगको सहकार्यमा आइसोलेस सेन्टर सञ्चालन गरौँ । प्रारम्भिक उपचार जटिल समस्या भएकालाई अस्पताल पठाउँ ।

अन्य विरामीलाई यही राखेर उपचार गराऔँ । यसले उपचार व्यवस्थित हुन्छ । त्यस्तै जटिल समस्या भएका विरामीलाई विशेष निगरानी गर्न सकिन्छ । तत्काल गरिहाल्नु पर्ने कामका बारेमा शिफारिस गर्दै अस्पतालका अधिकारीहरुले जोड दिनुभयो । अहिले अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको छ । यसको विकल्पका रुपमा महानगरले तत्कालका लागि अक्सिजन कन्सन्ट्रेटर खरिद गरिदिनु पर्छ । यसपछि अक्सिजन प्लान्टहरु स्थापना गर्दै जानुपर्छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन कामपछि घरमाभन्दा क्वारेन्टीनमा बस्ने प्रबन्ध गरिदिनुपर्छ । काम गर्दा लगाउने व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइदिनुपर्छ । उहाँहरुले महानगरसँग अपेक्षा गर्नुभयो । 

छलफलमा धारणा राख्नेहरुमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक हुनुहुन्थ्यो । 

सबै खालका विरामीलाई आकस्मिक कक्षमा लैजाँदा व्यवस्थापन कठिन हुन्छ । प्राथमिकतामा आधारमा उपचार गराउन आकस्मिक र होल्डिङ् गरी दुई खालका संरचना बनाउनुपर्छ । छलफलमा वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटा, कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागार्इँ, प्रहरी अस्पतालबाट डा. दामोदर पौडेल, शसस्त्र प्रहरी अस्पतालका डा. रुपक महर्जन, स्त्री तथा प्रसुति रोग अस्पताल थापाथलीबाट डा. सुनिल शर्मा आचार्यले धारणा राख्नुभयो । 

अक्सिजन व्यवस्थापन गर्न कठिन भइरहेको छ । जनशक्तिलाई प्रोत्साहन र कार्य वातावरण बनाइदिनु पर्छ । व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धता हुनुपर्छ । आपतकालीन सेवाका लागि आवश्यक पर्ने सामान खरिद गर्न खरिद सम्बन्धि प्रक्रिया लामो हुन्छ । यसलाई सहजीकरण गरिदिनुपर्छ । सकेसम्म सामान किनेर उपलब्ध गराइदिनुभयो भने अझ सजिलो हुन्छ । महानगरसँग अस्पतालकातर्फबाट अपेक्षा राख्दै उहाँहरुले आफूले गरेका प्रयास बारे पनि जानकारी गराउनुभएको थियो । 

अस्पतालहरुमा पोर्टेवल एक्स रे मेसिन, अल्ट्रा साउण्ड मेसिन नहुँदा  विरामीलाई अन्यत्र पठाउनु पर्ने हुन्छ । सीमित हुँदा सबै विरामीलाई सेवा दिन सकिँदैन । यस्तै पर्याप्त नहुँदा कोविड र ननकोविड विरामीलाई एउटै मेसिन निसंक्रमण गरेर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यसप्रकारका उपकरण अस्पतालहरुलाई चाहिएको छ । उहाँहरुले उपचार चुनौतीका विषयमा अनुभव सुनाउनुभएको थियो ।    

छलफलमा उपस्थित सरकारी सबै अस्पतालका अधिकारीहरुले, भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको  र बढाएका संख्या पनि भरिएको बताउनुभएको थियो । वेडको संख्या बढाउँदा व्यवस्थापकीय खर्च पनि बढ्छ । जनशक्तिलाई कामको भार पनि बढ्छ । यसरी थपिएको आर्थिक दायित्व मिलाउन सकियो भने महामारी विरुद्धमा काम गर्न थप सहज हुनेछ । उहाँहरुले यसप्रकार कामका लागि महानगरले निशर्त वा ससर्त अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । 

छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशाकसीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोविड अस्पताल व्यवस्थापन शिफारिस समिति’का संयोजक एवं वडाध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।