add

१६ वडाको सहयोगमा कुमारीको नयाँ आसन

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख ३०, बिहिबार वर्गीकृत राष्ट्रिय

रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभयो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गर्नुभयो ।

चाँदीको कलात्मक आसन सुनले लेपन गरिएको छ । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार पार्नुभएको हो । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले भन्नुभयो ‘ नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं ।’

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो। जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।

नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताउनुभयो । 

वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो । वडाले संस्कृति सम्पदा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको वडा सदस्य शाक्यले बताउनुभयो