add

कोविडको दोस्रो खोप जेठ २ गतेदेखि

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख ३१, शुक्रबार वर्गीकृत राष्ट्रिय

चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ । जनस्वास्थ्य विभागले आज वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोविडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकिन नभएका तर कोविडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइनेछैन । विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैविच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ । 

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोविड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू निजको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । तपाईहरुले यसैबमोजिम जनप्रतिनिधि, वडा र सम्बन्धितसँग समन्वय गर्नुहोला । विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् । 

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । 

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो ।

जेठ २ गतेबाट भेरोसेल खोप सञ्चालनका लागि महानगरले तोकेका खोप केन्द्रहरु 

१. नन्दीरात्रि स्कुल, नक्साल

२. २ नम्बर वडा कार्यालय, लाजिम्पाट

३. ३ नं. वडा कार्यालय, महाराजगञ्ज

४. पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग

५. ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च मावि, बौद्ध 

७. यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर

८. ८ नं. वडा कार्यालय, जयबागेश्वरी

९. गुह्येश्वरी मावि, सिनामंगल

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर

११. विश्व निकेतन स्कुल, त्रिपुरेश्वर

१२. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु

१३. जनप्रभात मावि, कालीमाटी

१४. १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर

१५. भुइँखेल चौर, स्वयम्भू

१६. जुडो हल, नयाँबजार

१७.  पब्लिक युथ क्याम्पस, धोबीचौर

१८. पुष्पलाल पार्क, विष्णुमती

१९. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर

२०. शान्ति निकुञ्ज स्कुल, भगवतीबारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल

२२. टेवहाल वडा कार्यालय, संकटा

२३. नव आदर्श स्कुल, वसन्तपुर

२४. इतुमबहाल, तारणी वहाल

२५. कन्या मन्दिर स्कुल, क्षेत्रपाटी

२६. वडा परिसर, लैनचौर

२७. महाबौद्ध चोक

२८. २८ नं. वडा कार्यालय, सिटी मार्केट

२९. विजय स्मारक स्कुल, डिल्लीबजार

३०. ज्ञानेश्वर चोक

३१. भीमसेनगोला स्कुल, भीमसेनगोला  

३२. ३२ नं. वडा कार्यालय, जडीबुटी