add

जोसँग पूर्वाधार, जनशक्ति र प्रणाली छ, उसैलाई प्रोत्साहन गर्दा परिणाम छिटो र प्रभावकारी आउँछ — प्रमुख शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ जेठ १, शनिबार वर्गीकृत राष्ट्रिय

 

कोविडको संक्रमण विरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले बैशाख ३१ गते एकै दिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ । यी सम्झौताहरु काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गर्नुभएको छ ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो । ​

सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले साना—साना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउने निर्णय गरेका हौँ । यसले महामारी विरुद्धको लडाइँ प्रभावकारी हुन्छ भन्ने हामीले ठानेका छौँ । यो सहकार्य त्यसैका निम्ति हो ।’

अहिले आत्मबल बलियो बनाएर लड्नु पर्नेछ । सम्झौतापछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भन्नुभयो, हामीले अस्पतालहरुसँग गरेको सहकार्यबाट विरामीहरुमा लाभ पुग्ने आशा छ । त्यहीअनुसार सेवा व्यवस्थापन गर्नुहोला ।’

आज सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पताललाई सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको नामबाट अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गर्नेछ । जेठ १ गतेबाट ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम सुरु गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराउनेछ । त्यसपछिको अनुदान खर्च फाँटवारीमा आधारित हुनेछ । सम्झौतामा अस्पतालकातर्फबाट सहायक रथी कमाण्डान्ट डा. अरुण शर्माले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ वेडको काठमाडौँ महानगरको कोविड अस्पतालका रुपमा सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीव ३० लाख रुपैयाँ र ३५ बेडको कोविड विशेष अस्पतालको समग्र व्यवस्थापन र आवश्यक जनशक्तिका लागि महानगरले मासिक करीव ४८ लाख रुपैयाँ व्यहार्नेछ । यो सम्झौता कोविडको महामारीका विषयमा महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो । सम्झौताबमोजिम अस्पतालले खरिद गर्ने ३ वटा भेन्टिलेटरका लागि विलअनुसारको रकम महानगरले अनुदान स्वरुप उपलबध गराउनेछ । सम्झौतामा अस्पतालकातर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता जेठ ७ गतेबाट लागु हुनेछ ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ वटा भेन्टिलेटर र ५० थान मोनिटर खरिद गर्ने रकम महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । सम्झौताबमोजिम अस्पतालहरुले खरिद गर्ने उपकरणहरुको भुक्तानीका लागि महानगरले विलबमोजिमको रकम अनुदान स्वरुप दिनेछ । सम्झौतामा अस्पतालका निमित्त निर्देशक प्रा.डा.शान्ता कुमारी कँडेल सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

निजामति कर्मचारी अस्पतालले महानगरसँग कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १०–थान खरिद गर्न सहयोगको माग गरेको थियो । यही मागअनुसार दुवै पक्षविच सम्झौता भएको छ । यसमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

महानगरले महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, बसुन्धरा, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल, बागबजारलाई २÷२ थान भेन्टिलेटर मेसिन खरिद गर्न आर्थिक अनुदान दिनेछ । यी अस्पतालहरुलाई दिइने अनुदान रकम पनि विलबमोजिम नै हो । यी अस्पतालकातर्फबाट क्रमशः अध्यक्ष कृष्णकुमार मगर, मेडिकल डाइरेक्टर डा. हेम लिम्बू र मेडिकल डाइरेक्टर डा. विजेन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।

सहयोग प्राप्त गर्ने कसले के भने

प्रा. डा. शान्ताकुमारी कँडेल सापकोटा

निमित्त निर्देशक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल

हामीसँग नवनिर्मित भवन छ । सरकारबाट यसलाई कोविड अस्पताल बनाउने निर्णय भइसकेको छ । अहिलेको समस्या भनेको अक्सिजन हो । कोविडको संक्रमणबाट अस्पतालमा उपचार गर्नु पर्नेमध्ये धेरै विरामीलाई अक्सिजनको आवश्यकता पर्ने हुन्छ । त्यसैले महानगरको सहयोग यहाँनिर पनि जरुरी छ । अहिले महानगरबाट प्राप्त भएको भेन्टिलेटर र मोनिटर खरिदका लागि प्राप्त भएको सहयोगले जीवनको जटिल अवस्थामा पुगेका विरामीलाई पुनःजीवन दिनेछ ।   

डा. मनोजमान श्रेष्ठ

अध्यक्ष, छत्रपाटी निःशुल्क चिकित्सालय

पैसा भएर मात्र बाँचिने होइन रहेनछ । बाँच्नका लागि उपचार प्रणाली व्यवस्थित हुनुपर्ने रहेछ भन्ने महामारीले सिकाएको छ । अहिले कतै स्रोत छैन, कतै सोच छैन । महानगरको अभिभावकत्वमा हामी अस्पतालबाट धेरैभन्दा धेरै विरामीलाई लाभ हुने काम गर्ने प्रयास गर्नेछौंँ ।

हामीले यो अस्पताललाई महानगरको व्यवस्थापनमा सञ्चालन गर्नुपर्छ भनेर पहिले पनि भनेका थियौँ । अहिले अस्पतालको प्रशासनिक र व्यवस्थापकीय खर्च प्राप्त हुने भएको छ । यसबाट विरामीहरुलाई उच्चतम लाभ दिनेछौँ ।

डा. विधाननिधि पौडेल

कार्यकारी निर्देशक, निजामति कर्मचारी अस्पताल

अहिले हाम्रो अस्पतालमा कोविडका विरामीको चाप बढेको छ । अस्पतालको क्षमता १३२ वेडको हो । हामी महानगरको सहयोगमा १५० पु¥याउँछौँ । अहिले अक्सिजनको अभाव छ । यसबेला महानगरबाट प्राप्त कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) उपकरणबाट विरामीलाई जटिल अवस्थामा पुग्नबाट बचाउँछौँ ।

कृष्णकुमार मगर

अध्यक्ष, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल,

यो भेन्टिलेटर भनेको मानिसको पुनर्जीवन दिने उपकरण हो । उपचारका अन्य विधि सकिएपछि यसबाट उपचार गर्ने हो । स्रोतका अभावमा अस्पतालहरुले यस्ता उपकरण राख्न सकेका थिएनन् । महामारीका बेला हामीले महानगरको सहयोगमा भेन्टिलेटर खरिद गर्ने अवसर पाएका छौँ । यसको प्रयोग गरेर हामी धेरैभन्दा धेरै मानिसहरुलाई बचाउने प्रयास गर्नेछौँ 

डा. हेम लिम्बू

मेडिकल डाइरेक्टर, हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पताल

अस्पताललाई जरुरी भइकन पनि स्रोतको अभावमा हामीले भेन्टिलेटर खरिद गर्न सकेका थिएनौँ । विषम परिस्थितिमा महानगरबाट प्राप्त भएको जीवन प्रदायक यो सहयोगबाट अस्पताल विरामीको सेवामा थप शसक्त भएको छ । भेन्टिलेटर कोविड सकिएपछि पनि आवश्यक रहन्छ । अस्पतालमा आवश्यक पर्ने अन्य प्रणाली र उपकरणका लागि हामीले महानगरसँग थप सहयोगको अपेक्षा गरेका छौँ ।

डा. विजेन्द्रध्वज जोशी

मेडिकल डाइरेक्टर, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल

हाम्रो अस्पतालमा अहिले विरामीको संख्या बढिरहेको छ । कोविड संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बन्दै गरेका विरामीलाई आईसीयु र भेन्टिलेटरकै आवश्यकता पर्दछ । रोगले च्यापेको जटिल अवस्थाबाट सामान्य अवस्थामा फर्काउन यही उपकरण नभइ हुँदैन । यसबेला महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै विरामीलाई लाभ पु¥याउने छौँ ।  

एचडीयु, आइसियु र भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन प्राप्त हुनुपर्छ । त्यसैले अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न, सिलिन्डर वा आन्तरिक उत्पादनबाट अक्सिजन नहुँदा विकल्पका रुपमा प्रयोग गर्न सकिने उपकरण प्राप्त गर्नमा महानगरको सहयोग निरन्तर चाहिने चिकित्सकहरुको साझा धारणा थियो ।