add

महानगरको अनुदानबाट राधास्वामी भवनमा कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ ८, शनिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँको सामाखुशीमा आजदेखि राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो । 

सेन्टर सञ्चालन गर्न गएको बर्ष २०७७ साल कार्तिक १४ गते मन्त्री परिषद्ले निर्णय गरेको थियो । त्यसपछि कोविडको संक्रमण घट्दो क्रममा गएकाले आइसोलसन निर्माण कार्यान्वयनमा डिलाइ भएको थियो । जब कोविडको दोस्रो लहर सुरु भयो त्यसपछि काठमाडौँ महानगरले कोविड रोकथाम र नियन्त्रणका लागि छलफल गर्न २०७८ बैशाख १४ गते विशेष कार्यपालिका बैठक बोलाएर राधास्वामी भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्नेलगायत विभिन्न निर्णय ग¥यो । 

काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा सुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । नेपाल सरकार, कोविड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना, हेड क्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका नेपाल मेडिकल फाउन्डेसन सेन्टरका सरोकारवाला हुन् । अहिले ८८ वेड अक्सिजन र ९६ साधारण सामान्यबाट सुरु भएको हो । आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिनेछ । 

सेन्टर सञ्चालनका लागि छलफल गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बैशाख २२ गते उपत्यका पृतना हेडक्वाटर गएर अधिकारीहरुसँग छलफल गर्नुभएको थियो । त्यसपछि बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएको थियो । सम्झौताबमोजिम काम थालनी गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको छ । त्यसपछिको खर्च सेन्टर सञ्चालनमा भएको लागतका आधारमा महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । 

सेन्टर सुरु गरिसकेपछि उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई सरकारले जसरी पनि पूरा गर्नेछ । महामारी नियन्त्रण गर्नका लागि सरकारले नेतृत्व गर्छ, अभिभावकत्व निर्वाह गर्छ । यसबाट छुट्कारा पाउन सबैको सामुहिक प्रयत्न चाहिन्छ ।’ अहिलेको चुनौती सामना गर्न क्षमता बढाउँदै लानु पर्छ । उपत्यकाका अक्सिजन उद्योगले दैनिक करीव ८ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् । अहिलेको माग करीब १६ हजार लिटर हो । यसलाई घटाउनु हाम्रो दायित्व हो । उपप्रधानमन्त्रीको भनाइ थियो । 

‘अहिले हाम्रा दुईवटा प्राथमिकता छन् । एउटा कोविडको संक्रमण घटाउनु र दोस्रो अस्पतालमा विरामीको चाप घटाउनु ।’ त्यस क्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारी रोक्न सबै पक्षलाई सहभागिताका लागि अपिल गर्नुभयो । 

कोविडका विरामीको प्रभावकारी उपचारका लागि अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउनु पहिलो काम हो । त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, हामीले विकास बजेट कटाएर नागरिकलाई महामारीबाट बचाउनमा खर्च गरिरहेका छौँ।

महामारीविरुद्धको लडाइँँमा सरकारसँग काम गर्न पाएकोमा हामीलाई खुशी लागेको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनकातर्फबाट डा. भुपेन्द्र बस्नेतले परिणाम आउने गरी काम गर्ने बताउनुभयो।