add

महामारी विरुद्धको अभियान सबैको हो, आपसी सहकार्यबाट यसलाई नियन्त्रण गरौँ — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २०, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोविड अस्पताल) लाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । 

उपकरण हस्तान्तरण गरिसकेपछिको प्रतिक्रियामा प्रमुख शाक्यले, अहिले कोविड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताउनुभयो । जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर केन्द्रीत छ । प्रमुख शाक्यले भन्नुभयो, ‘कोविड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रा सहकार्यमा रहेका अस्पतालहरुले यसलाई मनन गर्नुहुनेछ ।’

कोविड संक्रमणमा परेका विरामीको व्यवस्थापनका लागि महानगरका प्रयासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी हुनुहुन्छ । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ ।’

महामारीमा आफू बाँच्न जति कठिन छ । अरुलाई बचाउन उति नै कठिन छ । यसकालागि मानवीय र भौतिक स्रोतको समान परिचालन आवश्यक पर्ने रहेछ । त्यस अवसरमा वडा १७ का अध्यक्ष नविन मानन्धरले भन्नुभयो, महामारी नियन्त्रण गर्न अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी प्रतिकार्य गर्नुपर्छ र सिकाईबाट भावी पुस्तालाई उपयोग हुने संयन्त्र तयार पार्नुपर्छ ।

अस्पतालमा अहिले कोविड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार गराइरहनु भएको छ । महानगरको कोविड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, ‘कोविड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ ।’

त्यस अवसरमा महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । 

अस्पताललाई एनेस्थेसिया मेसिन प्राप्त 

आजै अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ हो । 

यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका हुन् । सामान प्रदान गरिसकेपछि बोल्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो, ‘चीनबाट महामारी नियन्त्रणमा सघाउन निरन्तर सहयोग प्राप्त भइरहेको छ ।’