add

नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत राष्ट्रिय

नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका स्थानीय तहहरूसमेतको सहभागितामा सार्वजनिक निजी साझेदारी अन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ । काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुबाट निस्कने धुलोका कारण भइरहेको प्रदुषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरुमा अन्य स्थानीय तहसँग समन्वय गरि आधुनिक भेइकल क्लीनिङ सेन्टर निर्माण गर्ने कार्य यसै आर्थिक बर्षमा आरम्भ गरिने पनि उल्लेख छ । चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि महानगरले नीति लिएको छ । 

महानगरपालिका क्षेत्रभित्रका मुख्य सडक, नदी किनार, पर्ती तथा नदी उकास, शैक्षिक संस्था लगायतका सार्वजनिक स्थलहरूमा बायोमास तथा कार्बन स्टकको क्षमता उच्च भएका अर्नामेन्टल प्लान्ट तथा विभिन्न प्रजातिका फलफूलका बिरुवा लगाई सहरी पर्यावरण एवम् सौन्दर्य अभिवृद्धि गरिने पनि महानगरपालिकाको नीति छ ।  

महानगर डाटा बैंकको स्थापना 

त्यसैगरी महानगरपालिकाले महानगरभित्र भएका विभिन्न विकासका गतिविधि एवं व्यक्तिगत घटना लगायत अन्य तथ्याङ्कलाई व्यवस्थित रुपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गर्ने नीति लिएको छ । ‘महानगरपालिकाका सम्पूर्ण सूचनालाई एकत्रित गरी तथ्याङ्कको संरक्षित भण्डारण गरिनेछ । खुला तथ्याङ्कको अवधारणालाई क्रमशः कार्यान्वयन गरिनेछ,’ नीतिमा भनिएको छ,’ ‘महानगरपालिकासँग सम्बन्धित प्रमुख सवालहरुमा सघन अन्तक्र्रिया गर्न काठमाडौं संवादकार्यक्रम सञ्चालन गरिनेछ ।’