add

म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गरिन, गर्दिनः मेयर शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ६, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गर्नुभएको थियो । आजको छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उहाँहरुको सुझाव ग्रहण गर्दै बैठक सुचारु गर्नुभएको थियो । 

शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधि भन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिनुभयो । ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ । विगतका वर्षमा सबै निर्णयहरु सर्वसहतिमा भए,’ शाक्यले भन्नुभयो, ‘म तपाईँहरुलाई आग्रह गर्न चाहन्छु । कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला ।

तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ । त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन । निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यहि गर्छु र गरिरहेको छु ।’ 

शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियावाजी नगर्न पनि सुझाव दिनुभयो । ‘विगतमा सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने गरेको परम्परा छ । सुरुको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भन्नुभयो, ‘मैले बरु केही दिन छलफल स्थगन गरेर भए पनि सबैको उपस्थितिमा सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्नुपर्छ भनेर दुई दिन स्थगन गरेँ । उहाँहरुले आजको बैठकमा केही सुझाव राख्नुभयो । उहाँहरुले राख्नु भएका धेरै जसो सुझाव नीति–तथा कार्यक्रममा समावेश भैसकेका छन् । केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुँने सुझाव छन् । सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्ने छौँ ।’ 

प्रमुख शाक्यले नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन उहाँहरुबाट आएका सकारात्मक सुझावले गहकिलो बनाउने भन्दै नीति–तथा कार्यक्रममा राजनीतिक लेप दिनु नहुने सझुाव दिनुभयो । ‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर उहाँहरुको सझुावलाई समेत सारकात्मक रुपमा दिदैँ थप बलियो बनाएर जान्छौँ ।’ 

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिनुभयो।