add

काठमाडौँ महानगरपालिकाका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ७, सोमबार वर्गीकृत राष्ट्रिय

सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । 

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ । 

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुग्नु भएका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो । ‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भन्नुभयो, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

शाक्यले यहाँको क्षतिको हिसावमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको पनि बताउनुभयो । ‘मेलम्चीसँग हाम्रो भगिनी सम्वन्ध स्थापित भएको छ । भगिनी सम्वन्धलाई अझ प्रगाढ बनाउनु पनि छ । त्यसैले भगिनी सम्वन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले म आफैँ यहाँका बासिन्दाको दुःखमा थोरै भए पनि साथ दिन सकियोस भन्ने हेतुले यो सहयोग रकम लिएर आएको हुँ । यहाँ भएको मानवीय र भौतिक क्षतिको परिपूर्ति यो रकमले हुँदैन । तर, यहाँका जनताको दुःखमा काठमाडौँ महानगरपालिका साथमा छ भन्ने बोध गराउन पनि हामी यहाँ आएका हौँ ।’

उहाँले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न पनि सुझाव दिनुभयो । ‘देशैभरीका नागरिकले अहिले बाढी–पहिरोका कारण विपद् भोगिरहनु परेको छ । काठमाडौँ महानगरपालिकाले भगिनी सम्वन्ध स्थापित गरेको नगर मेलम्ची र थप दुई गाउँपालिकाका जनता पनि अहिले विपद्मा छन् । त्यसैले थोरै भए पनि यो पीडामा मल्हम लगाउन हामी यहाँ आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘कोरोनासँगै अहिले यहाँका बासिन्दालाई अर्को विपद् आइलागेको छ । यो विपद्लाई धैर्य नगुमाई सामान गर्न सबैलाई आग्रह गर्छु ।’ 

उहाँले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताउनुभयो ।   

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गर्नुभयो । ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’  उहाँले बाढीग्रस्त क्षेत्रको  समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।  

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिनुभयो । ‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ । हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’  

कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडैँ महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।