बीपीको कार्यकर्ता नभए पनि अनुयायी हुँः मेयर शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ १६, बुधबार वर्गीकृत राष्ट्रिय

जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै रु २ करोड आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको रु १ करोड लगानी रहने छ ।  थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करीब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।   

काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । 

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र अन्यले गरेको सहयोगप्रति  पार्टीका तर्फबाट धन्यवाद दिनुभयो । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, देउवाले भन्नुभयो, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ ।  उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’ 

करीब दुई मिनेट जति मात्रै सम्वोधन गर्नुभएका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताउनुभयो ।  

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहनु भएको बीपीपुत्र सशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भन्नुभयो, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’ 

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।  ‘ कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘बीपी पुत्र सशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो ।

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै  दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्नुभयो । ‘बीपीले २०१५ सालमा ल्याएको दुइ–तिहाई पछि तत्कालिन शासकबाट खोसियो,’ शाक्यले भन्नुभयो, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ 

शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराउनुभयो ।  ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदर्नीय हुनुहुन्छ,’ शाक्यले भन्नुभयो, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ ।’ 

ट्रष्टका महासचिव पोख्रेलले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा समेत ख्याती कमाउन सफल बीपीलाई अन्तराष्ट्रियस्तरसम्म परिचित गराउन उहाँको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताउनुभयो । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले किसान र र मजदुरलाई केन्द्रविन्दुमा राखेर समाजवादको आन्दोलन अघि बढाउनुभयो,’ पोख्रेलले भन्नुभयो, ‘उहाँको सामाजिक आन्दोलनमा पनि विशिष्ट भूमिका छ  । उहाँको अध्ययन गर्न आवश्यक छ ।’

पोख्रेलले बीपीका भाषण, उहाँले लेखेका पुस्तक र उहाँले राष्ट्रका लागि गरेका योगदानलाई समेत ध्यान दिदैँ उहाँकाबारेमा अध्ययन र विविध अनुसन्धान गर्ने उदेश्य रहेको बताउनुभयो ।  ‘अन्तराष्ट्रियस्तरका व्यक्तिहरुलाई समेत नेपालमा आएर बीपीका बारेमा एकै ठाउँ बसेर अध्ययन गर्ने केन्द्रका रुपमा स्थापित गर्न यो अध्यययन र अनुसन्धानमा केन्द्रित हुन्छ ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि सहभागिता थियो।