add

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग वीरेन्द्र अस्पतालमा हेमोडाइलासिस सेवा सुरु

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ आषाढ २७, आइतबार वर्गीकृत राष्ट्रिय

वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।

आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो ।

सो अवसरमा महानगर प्रमुख शाक्यले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताउनुभयो ।

मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा कार्यक्रम सञ्चालन गरिएको शाक्यले जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख छ ।

‘तत्कालका लागि त्यो सम्भव नभएपछि विशेषज्ञ सेवा भएकासँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ’ शाक्यले भन्नुभयो ।

यस प्रकारको सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

उपचारमा सम्लग्न १ जना एमबीबीएस डाक्टर, ३ जना स्टाफ नर्स, १ जना हेमोडायलाइसिस प्राविधिक, १ जना प्रशासन हेर्ने अधिकारी र १ जना सफाई कर्मचारी गरी जम्मा ७ जना जनशक्तिको लागि तलब खर्च महानगरले व्यहोर्नेछ ।

यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि हो । सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायोलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ ।

अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले सेवा लिन आउने विरामीले महानगरले दिएको शिफारिसका साथ आउनुपर्ने जानकारी गराउनुभयो । सेवा सञ्चालन गर्न अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको छ ।

मिर्गौलाले काम नगरेको अवस्थामा सरीरमा जम्मा भएको दुषित पदार्थहरु सरीरबाट बाहिर निकालेर स्वस्थ बनाउने विधि डायोलाइसिस हो ।

अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायोलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ ।

निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।