add

चःमती आयोजना क्षेत्रमा ध्यान पार्कको शिलान्यास : उपभोक्ताको १५ प्रतिशत योगदान

Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण २, शनिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज ध्यान पार्कको शिलान्यास गर्नुभएको छ । वडा १५ स्थित चमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उहाँले पार्कको शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण केही महिना पछि सरेको बताउनुभयो । ‘ निर्वाचित भएपछि हामीले २ बर्षभित्र आयोजनाको काम सक्ने भनेका थियौँ । लक्ष्य गरेअनुसार काम पनि हुँदै थियो । त्यस विचमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण केही महिना ढिला भएको छ ।’ प्रमुख शाक्यले थप्दै भन्नुभयो, ‘बाँकी भएका आयोजनाका धेरै काम सकिएका छन् । उपभोक्ताको जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन हामी अन्तिम तयारी गरिरहेका छौँ ।’

पार्क ५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुँदैछ । यसको १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्नेछन् । बाँकी ८५ प्रतिशत महानगरपालिकाले व्यहोर्ने छ ।  

०५८ सालमा सुरु भएको योजनाले ०७४ सालपछि मात्र गति लिन सक्यो । आयोजना सुरु गर्ने बेला हामीले नै निर्णय गरेर थालेका थियौँ । यसको हस्तान्तरण पनि हामी नै गछौँ । कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, हामीले हाम्रो जिम्मेवारी पूरा गर्दैछौँ । यसको दिगो व्यवस्थापनमा स्थानीय उपभोक्ताहरुकै भूमिका हुन्छ । 

महानगरको पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीव १४ आना जग्गामा पार्क निर्माण हुनेछ । मौलिक र परम्परागत शैलीमा निर्माण हुने पार्कभित्र प्रवेश गरेपछि आध्यात्मिक भाव पैदा हुने खालको बनाइनेछ । चमती जग्गा विकास आयोजनाका प्रमुख रामबाबु महतोकाअनुसार यस क्षेत्रमा १४ प्रतिशत उपभोक्ताको मात्र जग्गा फिर्ता दिन बाँकी छ । पूर्वाधार विकास गर्ने अन्तिम चरणमा छ । 

टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने अपेक्षा छ । कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. को धारणा थियो । 

आयोजनाको पछिल्लो प्रगतिबाट स्थानीय खुशी छन् । कार्यक्रममा जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चमती ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।  

पार्क आउँदो माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।