सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण ४, सोमबार वर्गीकृत कला

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे ।

कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । ‘नेपालभाषालाई सम्बद्र्धन गर्ने खालको गीतलाई प्रचार प्रसार गर्दै अघि बढ्नुपर्छ । यसमा म आफैले पनि सक्दो सहयोग गर्नेछु ।’ मेयर श्रेष्ठले बताए ।

त्यस्तै गीतका रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचका साथ तयार गरेको बताए । तर समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा नयाँ प्राण भर्न सफल भएको उहाँले स्मरण गरे ।

हुन पनि हाकु मैंचा बोलको गीत नेपालभाषा संगीत क्षेत्रको लागि थप नयाँ जग हुनसक्छ । समृद्धिको कुरो गरिरहँदा भौतिक विकास मात्रले त्यसलाई सार्थकता दिँदैन । बरु भाषा, मूर्त र अमूर्त सम्पदाको संरक्षण, साहित्य सिर्जना र गीत संगीतको विकासले निर्धारण गरेको हुन्छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व उपमेयर ओमचरण अमात्यले कला, संस्कृति तथा गीत संगीतको विकास गर्नु पर्नेमा जोड दिए । ‘म आफैले पनि बहुभाषी चलचित्र ‘हिम आँधी’ बनाउँदैछु । यसलाई अंग्रेजी, नेपाली, नेपालभाषा तथा चिनियाँ भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाउँदैछु ।’ अमात्यको भनाइ थियो ।

नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् । त्यस्तै कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दिपक बज्राचार्य र सागर बनमालाले संयुक्त रुपमा कोरियोग्राफी गरेका हुन् । 

म्युजिक भिडियोलाई तपसिल लिंकमा क्लीक गरेर हाइलाइन्ट् नेपाल युट्यूब च्यानलमा हेर्न सकिनेछ ।

हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो लोकार्पण