add

गुठीले गर्ने सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ श्रावण १३, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका कतिपय गुठी खलःका सदस्यहरू मिली सामुहिक रूपमा जग्गा खरिद गर्न थालेको र त्यहाँ महानगरपालिकाले सांस्कृतिक प्रयोजनका भवन बनाइदिएको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिले पहिले गुठीहरूले आफ्नै पहलमा गर्ने कार्यहरू अहिले स्थानीय सरकारले जिम्मा लिई गर्न थालेको छ । यहाँका संस्कृति सम्पदाहरू संरक्षणलाई काठमाडौं महानगरपालिकाले अपनत्व ग्रहण गर्दै यो काम शुरु गरेको हो ।’

कामपा २१ वडास्थित तःबहालमा विभिन्न देवीदेवताहरू र तुंफः पुनर्निर्माण गरी हिजो गरिएको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘संस्कृति सम्पदा संरक्षण कार्यमा काठमाडौं महानगरपालिकाले चलाइरहेको काममा सहयोग गर्न अहिले बागमती प्रदेश सरकार पनि अघि बढेको छ । अहिले काठमाडौंमा सांस्कृतिक वाद्यवादन खरिद गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याएको छ, यसको लागि प्रदेश सरकार लगायत यसमा पहल गर्नुहुने सबै प्रदेशसभा सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु ।’

कामपा २१ वडा कार्यालय र स्थानीय तःबहाः पुचःया संयुक्त प्रयासमा उक्त तुंफः र मूर्तिहरू पुनस्र्थापना गरिएको हो । 

काठमाडौं महानगरपालिकाले गर्न लागेका केही कामहरूलाई अदालतले रोकिदिएकोमा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यदि सर्वोच्चले नरोकेको भए अहिले यही वडाको लगन टोलमा लगन पार्क बनिसक्थ्यो होला । हामी यो लगन चोकलाई असन चोक, इन्द्रचोक जस्तै आकर्षक चोक बनाउन चाहन्छौं ।’

लगनका स्थानीयवासीका लागि बनाउन लागिएको लगन पार्कलाई एक जनाको उजुरीको भरमा रोकिएको जनाउँदै उहाँले अहिले कोरोनाको कारण देखाएर यो मुद्दालाई पेशीमा नचढाईकन रोकिएको पनि बताउनुभयो।