add

प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकता

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण १६, शनिबार वर्गीकृत राष्ट्रिय

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ ।

परिसरले बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । गत मंसिरको पहिलो सातादेखि परिसरको प्रमुखको रुपमा बज्राचार्यले काम गर्न थाल्नुभएको थियो ।नागरिक मैत्री प्रशासन बनाउन प्रहरी कार्यालयमा कहिले नआएका गृहिणी महिला, पछाडिपरेका समूहको सहज पहँच स्थापित गर्ने आफ्नो ध्येय रहेको प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

 उहाँले भन्नुभयो ‘ महिलाहरुलाई परिसर बोलाएर छलफल गर्ने , समस्या सुन्ने विविध गतिविधि सञ्चालन गरेको थिएँ।सो कार्यले प्रहरीप्रति अपनत्व भाव विकसित भएको पाएँ। कोरोना संक्रमणको बेला रातो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा सुरक्षा व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले गुठीयार, स्थानीय, सरोकारवाला सबैको साथ, सहयोग र समन्वयले सो काम सहज रुपमै सम्पन्न भएको बताउनुभयो । 

‘कोरोनाको जोखिममा प्रहरीलाई काम गर्न निकै कठिनाई र चुनौती थियो।जिम्मेवारी निकै थियो । त्यस्तो बेला धेरैको सहयोग,साथ पाएँ।सबैप्रति आभार प्रकट गर्दछौं। प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले भन्नुभयो ।

सोही अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले नेवार समुदायमा अझै पनि प्रहरी प्रशासन भन्ने बितिक्कै संकोच र भयको मनोविज्ञानले हेर्ने र बुझ्ने गरेको बताउँदै यसको अन्त्यका लागि प्रहरी र समुदायको अन्तरक्रिया बढाउनुपर्नेमा जोडदिनुभयो ।

समुदाय प्रहरी साझेदारी अभियानंमा आफू एक दशक भन्दा बढी समयदेखि लागिरहेको चर्चा गर्दै महासचिव महर्जनले नेवार समुदायमा प्रशासनको मनोवैज्ञानिक दुरी र दक्षिणी पहाडी भेगमा भौतिक दूरी हटाउनुपर्ने र परिसरको प्रमुख एक मिसा र त्यसमाथि नेवाः समुदायको भएकोले यो अवस्थालाई अझ ज्यादा बुझ्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा पञ्चकन्या गुप्र्रका प्रमुख प्रदीपकुमार श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यो लगायतले बोल्नुभएको थियो ।

समारोहमा कोरोनाको समयमा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री र अन्य आवश्यक सामग्री उपलब्ध गराउने ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ, अरनिको समाज, पञ्चकन्या गु्रर्प लगायत १ दर्जन संघसंस्थाका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।